- यमनका हुथी विद्रोहीले साउदी अरेबियाको पूर्वी सहर धहरानस्थित सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा आक्रमण गरेका छन् ।
काठमाडौँ : यमनका हुथी विद्रोहीले साउदी अरेबियाको पूर्वी सहर धहरानस्थित सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा आक्रमण गरेका छन् ।
साउदी ऊर्जा मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार राति भएको आक्रमणपछि भवनमा सीमित आगलागी भएको थियो। घटनामा मानवीय क्षति भएको छैन ।
समाचार संस्था रोयटर्सका अनुसार कम्पनीको मुख्यालय परिसरमा रहेको एउटा कार्यालय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो ।
त्यसबाट भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताइएको छ । साउदी नेतृत्वको गठबन्धनले धहरानमा अवरोध गरिएको क्षेप्यास्त्रका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ । राजधानी रियादमा पनि हुथी विद्रोहीका क्षेप्यास्त्र र ड्रोन अवरोध गरी नष्ट गरिएको साउदी अधिकारीहरूले बताएका छन् ।
क्षेप्यास्त्रका टुक्रा खस्दा रियादमा चार जना घाइते भएका छन्। घाइते हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । घटनामा राजधानीका १५ घरमा सामान्य क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ । यमनमा पुनः चर्किएको गृहयुद्धका क्रममा साउदी अरेबिया र हुथी विद्रोहीबीच आक्रमण तीव्र बनेको छ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाले सरकारी सेनालाई समर्थन गरेको भन्दै क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गर्दै आएका छन्।
यसअघि हुथी प्रवक्ता याह्या सारीले साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा गरेको आक्रमणको जवाफ कडा हुने चेतावनी दिएका थिए । उनले धहरानस्थित अरामको मुख्यालय र रियादको तेल प्रशोधन केन्द्र सम्भावित निशानामा रहेको बताएका थिए ।
साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको आक्रमण क्षमता कमजोर बनाउने उद्देश्यले सानानजिकैको इन्धन भण्डारण केन्द्रसहित विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
यमनको द्वन्द्व क्षेत्रीय तनावसँग पनि जोडिएको छ। साउदी अरेबियाले हुथी विद्रोहीविरुद्धको सैन्य अभियानलाई तीव्र बनाएको छ भने इरानले रियाद र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’