विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा

२८ असोज, २०८३
सारांश
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र इच्छुक कम्पनीलाई आशयपत्र दिने तयारी भइरहेको बताएका छन्।

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र इच्छुक कम्पनीलाई आशयपत्र दिने तयारी भइरहेको बताएका छन्।

 

बुधबार मन्त्रालयमा ६ महिनाको प्रगति समीक्षा गर्दै उनले विद्युत् उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धि तथा सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।

 

मन्त्री श्रेष्ठका अनुसार विद्युत् खरिद सम्झौताका लागि वैज्ञानिक मापदण्ड तयार गरिएको छ। निर्माणको अन्तिम चरणमा रहेका २७ जलविद्युत् आयोजनाको कुल ५४०.४७ मेगावाट क्षमताको व्यावसायिक उत्पादन सुरु हुने मिति थप गरिएको छ ।

 

नेपाल–भारतबीच विद्युत् आयात क्षमता १ हजारबाट १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० बाट १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको पनि उनले बताए ।

 

प्रसारण पूर्वाधारतर्फ बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन निर्माण पूरा गरी आंशिक सञ्चालनमा ल्याइएको छ। चालु आर्थिक वर्षभित्र थप १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

सिँचाइतर्फ सिक्टा आयोजनामार्फत थप १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। महाकाली, बड्कापथ, बबई र रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट पनि थप जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको मन्त्रालयले जनाएको छ । ऊर्जा क्षेत्रको कानुनी सुधारअन्तर्गत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ भने जलस्रोतसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको छ।

 

मन्त्री श्रेष्ठले प्राकृतिक विपद्बाट ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि विद्युत् सेवा पुनःस्थापना र आपूर्ति निरन्तर राख्न प्राथमिकताका साथ काम गरिएको बताए। बाढीपछि सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारमध्ये हालसम्म छ परिवारलाई राहत वितरण गरिएको पनि उनले जानकारी दिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार