एम्बाप्पे र डेम्बेलेको गोलमा इराकमाथि फ्रान्सको सहज जित

२०८३ अषाढ़ ०९ मङ्गलवार
सारांश
  • कप्तान केलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा संयुक्त रूपमा दोस्रो सर्वाधिक गोलकर्ता बनेपछि फ्रान्सले मौसमका कारण प्रभावित खेलमा इराकलाई सहजै पराजित गरेको छ ।

काठमाण्डौ, ०९ अषाढ़ । कप्तान केलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा संयुक्त रूपमा दोस्रो सर्वाधिक गोलकर्ता बनेपछि फ्रान्सले मौसमका कारण प्रभावित खेलमा इराकलाई सहजै पराजित गरेको छ ।

 

समूह ‘आई’ अन्तर्गत भएको खेलमा फ्रान्सले इराकमाथि ३-० गोल अन्तरको जित दर्ता गरेको हो । एम्बाप्पेले दुवै हाफको सुरुआती समयमा गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका छन् । उनी अब केही घण्टाअघि कीर्तिमान बनाएका लियोनेल मेसीभन्दा दुई गोलले मात्र पछाडि छन् ।

 

यो खेल सन् २०२६ को विश्वकपमा खराब मौसमका कारण अवरुद्ध हुने पहिलो खेल बनेको छ । खेलस्थल वरपर चट्याङ परेपछि दोस्रो हाफ पहिलो हाफ सकिएको दुई घण्टाभन्दा बढी समयपछि मात्र सुरु गरिएको थियो ।

 

यसअघि दिनभरको भारी वर्षाका कारण समर्थकहरूको फिलाडेल्फिया रङ्गशालामा प्रवेशमा पनि ढिलाइ भएको थियो । यद्यपि, खेल भने निर्धारित समयमै सुरु भएको थियो । फ्रान्सले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्‍यो र १४औँ मिनेटमा त्यसको प्रतिफल पायो । एम्बाप्पेले पेनाल्टी क्षेत्रको किनाराबाट गरेको शक्तिशाली बायाँ खुट्टाको प्रहार गोलमा परिणत भएको थियो ।

 

तर, पहिलो हाफको हाइड्रेसन ब्रेकपछि सन् २०१८ को विश्वविजेता फ्रान्सले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्‍यो । यसबीच चोटका कारण कप्तान तथा स्ट्राइकर आयमेन हुसेन मैदानबाट बाहिरिएपछि पनि इराकले लामो समय बल आफ्नो नियन्त्रणमा राख्न सफल भयो । लामो अवरोधपछि मैदान फर्किएको फ्रान्सले दोस्रो गोल उपहारस्वरूप पायो ।

 

इराकका गोलरक्षक अहमद बासिलले रक्षक जाइद तहसिनले छोटो पासमा दिएको गोलकिक नियन्त्रण गर्न नसक्दा उस्मान डेम्बेलेले एम्बाप्पेलाई सहज अवसर सिर्जना गरिदिएका थिए । त्यसपछि फ्रान्सले अग्रता अझै फराकिलो बनाउने अवसरहरू पनि पाएको थियो । एड्रियन राबियोटले स्पष्ट हेडरको अवसर गुमाए भने माइकल ओलिसेको आकर्षक प्रहार क्रसबारमा लागेको थियो । यद्यपि, डेम्बेलेले ओलिसेको उत्कृष्ट बाहिरी खुट्टाको पासलाई सदुपयोग गर्दै तेस्रो गोल गरेका थिए । यो फ्रान्सका लागि कुनै ठूलो प्रतियोगितामा उनको २०औँ खेलमा पहिलो गोल पनि हो ।

 

खेलको अन्तिम २० मिनेटमा इराकले दुई राम्रो अवसर सिर्जना गरेको थियो । जिदान इक्बालको कर्नरमा रेबिन सुलाकाको भली प्रहार माथिबाट बाहिरियो भने मार्को फार्जीको उत्कृष्ट क्रसमा अली अल हमादी बलसम्म पुग्न सकेनन् ।

 

अन्तिम समयमा एम्बाप्पेसँग ह्याट्रिक पूरा गर्ने अवसर पनि आएको थियो । तर, उनको बायाँ खुट्टाको प्रहार माथिबाट बाहिरियो ।

 

लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य राखेको फ्रान्स ६ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा पुगेको छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार