रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

२०८३ अषाढ़ ०७ आइतवार
सारांश
  • महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन पुगेका छन् । उद्घाटन समारोहलाई प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ले पनि सम्बोधन गर्ने बताइएको छ ।

काठमाण्डौ, ०७ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ ।

 

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन पुगेका छन् । उद्घाटन समारोहलाई प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ले पनि सम्बोधन गर्ने बताइएको छ ।

 

महाधिवेशनमा प्रतिनिधिको संख्या ४ हजारभन्दा बढी हुने बताइएको छ । विधानतः सभापतिले मनोनयन गर्ने संख्या २०० रहेको छ । महाधिवेशनमा कोशी प्रदेशबाट प्रतिनिधिको संख्या ५२० रहेको छ। मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ ।

 

महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ ।

 

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।

 

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।

 

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

 

कुन दलबाट को जाँदैछन्:

 

महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन नेपाली काँग्रेसका सभापति गगन थापा उपस्थित हुन सक्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।  उनले भने- 'सम्भवत नेपाली काँग्रेसबाट सभापति नै आउने सम्भावना छ । शत प्रतिशत टुङ्गो लागेको छैन तर उहाँ आउने सम्भावना रहेको जानकारी दिइएको छ ।'  त्यस्तै नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट बर्षामान पुन र राप्रपाबाट राजेन्द्र लिङदेन सहभागी हुँदैछन् । बुर्लाकोटीले जसपा नेपाल, जनमत पार्टी र डा. बाबुराम भट्टराईलाई पनि उद्घाटन समारोहको निमन्त्रणा गरेको जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार