स्पेनको सिउटा हुँदै युरोप प्रवेश गर्न खोज्छन् आप्रवासी ?
१६ श्रावण, २०८३, शनिवार
- सिउटा भौगोलिक रूपमा अफ्रिकी महादेशमा भए पनि यो स्पेन र युरोपेली सङ्घको हिस्सा हो । त्यसैले सिउटामा प्रवेश गर्नेबित्तिकै व्यक्ति युरोपेली सीमाभित्र पुगेको मानिन्छ ।
काठमाडौँ: स्पेनको स्वायत्त सहर सिउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा ३४ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । समाचार संस्था एपीका अनुसार बिहीबार बिहान करिब तीन हजार आप्रवासी एकैपटक मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्दा दुर्घटना भएको हो ।
सीमामा तैनाथ सुरक्षाकर्मी र सुरक्षा बारबीचको साँघुरो बाटोमा ठूलो भीड भएपछि मानिसहरू एकअर्कामाथि खसेका थिए । भीडमा च्यापिएर, सास फेर्न नसकेर तथा समुद्रमा डुबेर उनीहरूको मृत्यु भएको बताइएको छ । घटनामा स्पेन र मोरक्कोका एक सयभन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
स्पेनी सरकारले पछिल्लो २४ घण्टामा मात्रै मोरक्कोबाट करिब ६० हजार व्यक्ति पौडी खेलेर वा पैदल हिँडेर सिउटा प्रवेश गरेको जनाएको छ । यो संख्या सिउटाको कुल जनसंख्याको करिब ७० प्रतिशत बराबर हो ।
सिउटा भौगोलिक रूपमा अफ्रिकी महादेशमा भए पनि यो स्पेन र युरोपेली सङ्घको हिस्सा हो । त्यसैले सिउटामा प्रवेश गर्नेबित्तिकै व्यक्ति युरोपेली सीमाभित्र पुगेको मानिन्छ ।
सिउटा र मोरक्कोबीच करिब आठ किलोमिटर लामो सुरक्षा बार रहेको छ । केही आप्रवासी बार चढेर वा काटेर प्रवेश गर्ने प्रयास गर्छन् भने धेरैले समुद्री मार्ग रोज्ने गरेका छन् । समुद्री क्षेत्रको पूर्ण निगरानी गर्न कठिन हुने भएकाले यो मार्ग बढी प्रयोग हुने गरेको छ ।
अफ्रिका र एसियाका धेरै मुलुकमा गरिबी, बेरोजगारी, युद्ध र भोकमरीका कारण मानिसहरू राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहन्छन् । लामो समुद्री यात्रा गर्नुको सट्टा मोरक्को हुँदै सिउटा पुग्ने बाटो तुलनात्मक रूपमा छोटो र सहज मानिन्छ ।
सिउटामा प्रवेश गरेपछि उनीहरूमाथि स्पेन र युरोपेली सङ्घका कानुन लागू हुन्छन् । अन्तर्राष्ट्रिय नियमअनुसार उनीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता पठाउन मिल्दैन । उनीहरूलाई अस्थायी शिविरमा राखेर शरणका लागि आवेदन दिने अवसर दिइन्छ।
सन् २०२४ को नोभेम्बरमा एक अल्जेरियाली आप्रवासीलाई समुद्रमै पक्राउ गरी कुनै कानुनी प्रक्रिया पूरा नगरी मोरक्कोलाई बुझाइएको घटनाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।
यसै मुद्दामा स्पेनको सर्वोच्च अदालतले २०२६ जुलाई ८ मा फैसला गर्दै समुद्री मार्गबाट स्पेनको सीमाभित्र प्रवेश गरिसकेका व्यक्तिलाई सुनुवाइबिनै तत्काल फिर्ता पठाउन नमिल्ने निर्णय गरेको थियो। अदालतले सीमाको सुरक्षा बार नाघेर प्रवेश गर्न खोज्ने व्यक्तिको हकमा भने तत्काल फिर्ता पठाउन सकिने उल्लेख गरेको छ।
यस निर्णयपछि समुद्री मार्ग प्रयोग गर्ने आप्रवासीको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ। मानव तस्करहरूले पनि यही कानुनी व्यवस्थालाई आधार बनाएर समुद्री मार्गबाट प्रवेश गर्न प्रेरित गरेको जनाइएको छ।
घटनापछि स्पेन सरकारले सिउटाको सीमामा सुरक्षा व्यवस्था थप कडा बनाएको छ। अतिरिक्त सैनिक परिचालन गर्नुका साथै हवाई र समुद्री निगरानी बढाइएको छ। समुद्री मार्गबाट आउने आप्रवासीमाथि निगरानी गर्न गोताखोर टोलीसमेत परिचालन गरिएको छ। युरोपेली सङ्घले पनि स्पेनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
केही विश्लेषकका अनुसार मोरक्कोले यो अवस्थालाई स्पेनमाथि राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको हुन सक्ने विश्लेषण गरेका छन् । मोरक्कोले लामो समयदेखि सिउटा र मेलिला आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने स्पेनले ती दुवै सहर आफ्नो अभिन्न हिस्सा भएको बताउँदै आएको छ ।
मोरक्कोले सन् १९५६ मा स्पेनबाट स्वतन्त्रता पाए पनि सिउटा र मेलिला स्पेनकै नियन्त्रणमा रहे । स्पेनले सिउटामाथि आफ्नो नियन्त्रण करिब ३५० वर्षदेखि रहेको र त्यसबेला आधुनिक मोरक्को राज्य नै अस्तित्वमा नरहेको तर्क गर्दै आएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मोदीको गुनासो- जन्तरमन्तरमा आफू र स्वर्गीय आमालाई अपशब्द प्रयोग गरियो
-
स्पेनको सिउटा हुँदै युरोप प्रवेश गर्न खोज्छन् आप्रवासी ?
-
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै
-
सहकारी मुद्दा हेर्न छुट्टै ‘समर्पित इजलास’ गठन गर्न प्रधानन्यायाधीशसमक्ष प्रस्ताव
-
राजनीतिभन्दा ठुलो मानव सेवा केहि छैन- गगन थापा
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।