अमेरिकी सेनाद्वारा इरानमाथि व्यापक आक्रमण, तनाव फेरि चुलियो
१४ श्रावण, २०८३, बिहिवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गर्दा युद्ध केही सातामै अन्त्य हुने बताएका थिए । तर पाँच महिना बितिसक्दा पनि द्वन्द्व अन्त्य हुने कुनै संकेत देखिएको छैन ।
काठमाडौँ: अमेरिकी सेनाले इरानमाथि व्यापक हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाको मध्य कमान्डका अनुसार इरानले अमेरिकी फौजमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेपछि त्यसको प्रतिशोधस्वरूप इरानका दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको हो ।
जोर्डनस्थित अमेरिकी सैन्य अड्डा तथा होर्मुज जलडमरूमध्यमा रहेका अमेरिकी जहाजहरूलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र प्रहारको प्रयासपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का विभिन्न सैन्य संरचनामाथि हमला गरिएको जनाएको छ । यसअघि अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित सशस्त्र समूहहरूलाई लक्षित गर्दै इराकमा पहिलोपटक सार्वजनिक रूपमा संयुक्त आक्रमण गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गर्दा युद्ध केही सातामै अन्त्य हुने बताएका थिए । तर पाँच महिना बितिसक्दा पनि द्वन्द्व अन्त्य हुने कुनै संकेत देखिएको छैन ।
यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार ट्रम्पले बुधबार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमानसँग भेटवार्ता गरेका छन् । नाम नखुलाइएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा साउदी अरेबियाले क्षेत्रीय तनाव कम गर्न चाहेको सन्देश ट्रम्पलाई दिइएको उल्लेख गरिएको छ । यसबारे ह्वाइट हाउसले औपचारिक प्रतिक्रिया दिएको छैन ।
केही दिनको तुलनात्मक शान्तिपछि फेरि हिंसा चर्किएको हो । पछिल्ला केही दिन दुवै पक्षले आक्रमण रोकेर कूटनीतिक समाधान खोज्ने प्रयास भइरहेको संकेत देखिएको थियो । ट्रम्पले वार्तालाई 'धेरै मैत्रीपूर्ण' भनेका थिए, तर तेहरानले भने कुनै वार्ता नभएको दाबी गरेको थियो ।
अमेरिकी सेनाले पछिल्लो आक्रमणलाई 'मध्यपूर्वमा रहेका अमेरिकी फौजमाथि इरानले गरेको आक्रमण प्रयासको शक्तिशाली जवाफ' भनेको छ । अमेरिकी सेनाले इरानले प्रहार गरेका सबै क्षेप्यास्त्र बीचमै निष्क्रिय पारिएको बताएको छ ।
अमेरिकी सेनाले इरानका सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन निर्माण र सञ्चालन केन्द्र, तटीय निगरानी तथा प्रतिरक्षा संरचना र समुद्री सैन्य क्षमतासम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
आक्रमणअघि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानमाथि कडा प्रतिकार गरिने बताएका थिए । उनले अब जवाफ दिने पालो अमेरिकाको भएको भन्दै इरानलाई आक्रमण हुने जानकारी समेत रहेको दाबी गरे ।
उता, आईआरजीसीले अमेरिकाले गरेको 'आक्रामक गतिविधि' को जवाफस्वरूप जोर्डनस्थित अमेरिकी हवाई अड्डा र कमान्ड केन्द्रलाई निशाना बनाइएको जनाएको छ । साथै, चेतावनी बेवास्ता गरी असुरक्षित तथा गैरकानुनी मार्गबाट यात्रा गरेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्यमा तीनवटा तेल बोकेको जहाजमाथि पनि आफ्ना नौसैनिक बलले कारबाही गरेको दाबी गरेको छ ।
गत शुक्रबार ट्रम्पले लगातार १३ रातसम्म चलेको इरानविरुद्धको तीव्र बमबारी अभियान स्थगित गरेका थिए । त्यसक्रममा इरानका हतियार भण्डार र सैन्य संरचनालाई निशाना बनाइएको अमेरिकाले जनाएको थियो । ती आक्रमणमा ठूलो मानवीय क्षति भएको समाचार सार्वजनिक भएका थिए ।
अमेरिका र साउदी अरेबियाको संयुक्त कारबाहीमा इराकको पूर्वी क्षेत्रमा रहेका इरान समर्थित सशस्त्र समूहका रसद तथा हतियार भण्डारणस्थलहरूमा आक्रमण गरिएको जनाएको थियो। पछिल्ला ७२ घण्टामा आईआरजीसीको निर्देशनमा भएका ३० भन्दा बढी ड्रोन आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको बताइएको छ ।
इराकको इरान समर्थित शिया समूहहरूको प्रभाव रहेको अर्धसैनिक संगठनले अमेरिकी–साउदी आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको जनाएको छ। इराकी राष्ट्रपतिले उक्त आक्रमणको निन्दा गर्दै यसलाई इराकको सार्वभौमिकतामाथिको स्पष्ट उल्लङ्घन भनेका छन् ।
यद्यपि राष्ट्रपति ट्रम्पले उक्त कारबाही इराक सरकारसँग समन्वय गरेर गरिएको बताएका छन्। साउदी अरेबिया आफूलाई सुन्नी मुस्लिम विश्वको प्रमुख शक्ति मान्छ भने इरान शिया मुस्लिमहरूको सबैभन्दा ठूलो राष्ट्र हो । यी दुई देशबीच मध्यपूर्वमा प्रभाव विस्तारलाई लिएर दशकौँदेखि प्रतिस्पर्धा र तनाव कायम रहँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।