दक्षिण कोरियाका पूर्व राष्ट्रपति योलकी पत्नी किमलाई चार वर्षको जेल सजाय
२०८३ वैशाख १६ बुधवार
- दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम कियोन हीलाई भ्रष्टाचारसम्बन्धी अर्को मुद्दामा अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।
एजीन्सी, १६ वैशाख । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम कियोन हीलाई भ्रष्टाचारसम्बन्धी अर्को मुद्दामा अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।
सियोल उच्च अदालतले किमलाई राजनीतिक लाभ दिलाउने वाचा बदलामा उपहार लिएको तथा शेयर मूल्य हेरफेरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सजाय बढाएको हो ।
यसअघि जनवरीमा जिल्ला अदालतले उनलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उनीमाथि युनिफिकेशन चर्चबाट महँगो उपहार लिएको आरोप लागेको थियो । ती उपहारमा ग्राफ कम्पनीको हीराको हार र च्यानल कम्पनीको ब्याग समावेश थिए । यद्यपि, त्यसबेला शेयर मूल्य हेरफेरसम्बन्धी एक मुद्दामा भने उनलाई सफाइ दिइएको थियो । पछि दुवै पक्षले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका थिए। त्यसपछि उच्च अदालतले अर्को च्यानल ब्याग लिएको तथा शेयर मूल्य हेरफेरमा पनि संलग्न रहेको ठहर गर्दै सजाय चार वर्ष पुर्याएको हो ।
अदालतले राष्ट्रपतिकी पत्नीका रूपमा किमले देशको प्रतिनिधित्व गर्ने र राष्ट्रपतिमाथि प्रभाव राख्ने भएकाले उच्च नैतिक जिम्मेवारी अपेक्षित हुने जनाएको छ। तर उनले आफ्नो प्रभाव प्रयोग गरेर उपहार लिएको भन्दै अदालतले त्यसलाई गम्भीर रूपमा लिएको छ ।
यसअघि उनका पति तथा पूर्व राष्ट्रपति युन सुक योललाई दुई महिनाअघि जबर्जस्ती सैनिक शासन लागू गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।
सन् २०२४ डिसेम्बरमा युनले अचानक देशमा सैनिक शासन घोषणा गरेका थिए। उनले संसद भवनमा सेना र प्रहरी पठाउँदै ‘राष्ट्रविरोधी शक्ति’ र ‘उत्तर कोरिया समर्थक’लाई नियन्त्रण गर्न यस्तो कदम चालिएको बताएका थिए । तर त्यसपछि उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु भई पदबाट हटाइएका थिए। अदालतले संसद नियन्त्रण गर्ने, राजनीतिक विरोधीलाई पक्राउ गर्ने र लामो समयसम्म निरंकुश शासन चलाउने प्रयास गरेको भन्दै उनलाई विद्रोहको नेतृत्व गरेको दोषी ठहर गरेको थियो ।
अनुसन्धान टोलीले किमविरुद्ध १५ वर्ष जेल सजायको माग गरेको थियो। किम र स्वतन्त्र अनुसन्धान टोली दुवैलाई अब सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ । किमका वकिलहरूले भने यो अनुसन्धान राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन् ।
किम गत वर्ष अगस्टदेखि जेलमा छन् । प्रमाण नष्ट गर्न सक्ने आशंकामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी हिरासतमा राखिएकी थिइन् । राष्ट्रपतिको कार्यकालमा पनि उनी विभिन्न विवादमा तानिएकी थिइन्, जसका कारण युनको लोकप्रियतामा समेत असर परेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।