ताइवान मामिलामा जापानको कडा चेतावनीपछि चीनसँगको तनाव उत्कर्षमा
२०८२ मङ्सिर २६ शुक्रवार
- यो भूराजनीतिक टकरावले एसिया प्रशान्त क्षेत्रको शान्ति र स्थिरतामै दीर्घकालीन चुनौती थपेको छ।
एजेन्सी: जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानका विषयमा दिएको एक गम्भीर अभिव्यक्तिका कारण एसियाका दुई शक्ति राष्ट्र चीन र जापानबीचको कूटनीतिक सम्बन्ध हालसम्मकै तल्लो स्तरमा पुगेको छ।
गएको नोभेम्बर ७ मा जापानी संसद (डाइट) मा बोल्दै प्रधानमन्त्री ताकाइचीले चीनलाई स्पष्ट चेतावनी दिँदै ताइवानमाथि चिनियाँ आक्रमण भए जापान चुप लागेर नबस्ने संकेत गरेकी थिइन्।
के भनेकी थिइन् प्रधानमन्त्रीले?
संसदमा बोल्दै प्रधानमन्त्री ताकाइचीले भनिन्, "यदि बेइजिङले ताइवानविरुद्ध सैन्य बल प्रयोग गर्ने कदम चाल्यो भने, त्यो जापानका लागि 'अस्तित्वमाथि नै खतराको स्थिति' हुनेछ।"
उनले यस्तो "सबैभन्दा खराब परिदृश्य" आएमा ताइवान क्षेत्रमा शान्ति पुनर्स्थापना गर्न जापानले आफ्नो अमेरिकी सहयोगीसँग मिलेर सैन्य हस्तक्षेप गर्न सक्ने र सामूहिक आत्मरक्षाको अधिकार प्रयोग गर्ने बताएकी थिइन्।
चीनको कडा प्रतिशोध र सैन्य तनाव
ताकाइचीको यो भनाइलाई बेइजिङले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप र 'रेड लाइन' पार गरेको रूपमा व्याख्या गरेको छ। चीनले तत्काल माफी माग्न माग गरे पनि ताकाइची आफ्नो भनाइबाट पछि हटिनन्।
फलस्वरूप, चीनले जापानविरुद्ध कडा प्रतिशोध सुरु गरेको छ।
- चीनले जापानी 'सी-फुड' (सामुद्रिक खाना) को आयातमा कडाइ वा रोक्का गरेको छ।
- आफ्ना नागरिकहरूलाई सुरक्षाको कारण देखाउँदै जापान भ्रमण नगर्न चेतावनी दिएको छ।
- डिसेम्बरको सुरुमा चिनियाँ लडाकु विमानले जापानी लडाकु विमानतर्फ राडार सोझ्याएपछि सैन्य मुठभेडको जोखिम ह्वात्तै बढेको छ।
आर्थिक नोक्सानीको आँकलन
यो राजनीतिक विवादले दुई देशबीचको बलियो आर्थिक सम्बन्धमा गम्भीर असर पारेको छ। चीन र जापान प्रमुख व्यापारिक साझेदार हुन्, तर बेइजिङको प्रतिशोधका कारण पर्यटन र निर्यात क्षेत्र प्रभावित भएको छ। यसले जापानी अर्थतन्त्रमा करिब १४ अर्ब डलर (२.२ ट्रिलियन येन) भन्दा बढीको नोक्सानी पुर्याउने अनुमान गरिएको छ।
'बलियो जापान' र रक्षा बजेट वृद्धि
चिनियाँ दबाबको जवाफमा प्रधानमन्त्री ताकाइचीले "बलियो जापान" को नारा अघि सारेकी छिन्। उनले "युक्रेन भोलिको पूर्वी एसिया हुन सक्छ" भन्ने बुझाइका साथ ताइवानको सुरक्षालाई आफ्नै राष्ट्रिय सुरक्षाको अभिन्न अंग मानेकी छिन्। यसै सन्दर्भमा, उनले सन् २०२६ सम्ममा जापानको रक्षा बजेटलाई कुल गार्हस्थ उत्पादनको २ प्रतिशत पुर्याउने र अमेरिकासँगको सुरक्षा गठबन्धनलाई थप कसिलो बनाउने घोषणा गरेकी छिन्।
अमेरिकाको कूटनीतिक सन्तुलन: ट्रम्प प्रशासन पक्षधरताबाट टाढै
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जापान र चीनबीचको बढ्दो तनावमा तत्काल कसैको पक्ष नलिने नीति अख्तियार गरेको छ। बिहीबार वाशिङ्गटनमा बोल्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनिन्, "राष्ट्रपति ट्रम्प जापानसँगको बलियो गठबन्धन कायम राख्दै चीनसँग पनि राम्रो सम्बन्ध राख्न चाहनुहुन्छ।"
लेभिटले प्रधानमन्त्री ताकाइची र ट्रम्पबीच सुमधुर व्यक्तिगत सम्बन्ध रहेको र जापान अमेरिकाको "महान मित्र" भएको बताइन्। तर, अर्कोतर्फ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि ट्रम्पको "राम्रो सम्बन्ध" रहेको उनले उल्लेख गरिन्, जसलाई उनले अमेरिकाको हितमा रहेको बताइन्।
विश्लेषकहरूका अनुसार, अमेरिका र चीनबीच हाल भटमास खरिद लगायतका व्यापारिक वार्ताहरू चलिरहेका छन्। अर्को वर्ष हुने अमेरिकी मध्यावधि चुनाव अघि कूटनीतिक सफलता देखाउने दाउमा रहेका ट्रम्पले बेइजिङलाई चिढाउन नचाहेकाले यो विवादबाट आफूलाई टाढै राखेको बुझिएको छ।
समाधान अनिश्चित
विगतका विवादहरू कूटनीतिक वार्ताबाट सुल्झाइने गरे पनि यसपटक सहज निकास देखिँदैन। एकातिर जापान ताइवानको रक्षाका लागि कटिबद्ध देखिएको छ भने अर्कोतिर चीन एक दशक अघिको तुलनामा धेरै शक्तिशाली भइसकेकोले पछि हट्ने मुडमा छैन। यो भूराजनीतिक टकरावले एसिया प्रशान्त क्षेत्रको शान्ति र स्थिरतामै दीर्घकालीन चुनौती थपेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।