गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

२०८३ वैशाख १९ शनिवार
सारांश
  • कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ ।

सुर्खेत, १९ वैशाख । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ । उक्त सडक निर्माण सुरु भएको १० वर्षमा जम्मा १८ किलोमिटरमा सडक निर्माण गरिएको छ । मुगु सदरमुकाम गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो दुरीको यो सडक नेपाल–भारत–चीनको त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्त्वपूर्ण आधार विश्वास गरिएको छ ।

 

आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट निर्माण थालिएको यो सडक १० वर्षमा १८.५ किमी मात्रै निर्माण भएको छ । भौगोलिक विकटताका कारण सडक निर्माणको काले गति लिन नसकेको बताइएको छ । नौ वर्षमा १८ किलोमिटर ट्याक खोलिएको उक्त सडक चालु आर्थिक वर्षमा २४ किलोमिटर पुऱ्याउने लक्ष्य रहेको छ । भौगोलिक विकटता रहेको उक्त सडकमा प्रयाप्त बजेट नछुटाउँदा अपेक्षाकृत प्रगति हुन नसकेको हो ।

 

कर्णालीलाई भारत र चीनसँग जोड्न सरकारले नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी कर्णाली कोरिडोर र नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–धो–मोरिम्ला–तिब्बत जोड्ने गरी भेरी करिडोरको अवधारणा ल्याए पनि सडक निर्माणको काम ज्यादै सुस्त छ । आव २०६२/०६३ मा विस्तृत सर्भे अनुसार २५ करोड लागत अनुमान गरिएको भए पनि समय बढ्दै जाँदा सडकको लागत पनि बढ्ने देखिएको छ ।

 

संघीय सरकारको मातहत रहेको उक्त सडक आयोजनामा केही वर्ष बजेट नै नछुट्याए पछि ओझेलमा परेको थियो । २०७३ बाट गमगढी–नाक्चेलाग्ना सडकको ढुंगेधारासम्म ‘डीपीआर’ गरी सडक डिभिजन कार्यालय जुम्लाले सडकको कामलाई अघि बढाएको थियो । आर्थिक २०७८/०७९ चार करोड ९३ लाख खर्च भएको उक्त सडकमा आ।व २०७९/०८० मा चार करोड ४० लाख बजेट खर्चिएको थियो । चालु आव २०८२/८३ का लागि संघीय सरकारले १५ करोड स्रोत सुनिश्चित गरेपछि सडक निर्माणको काम अगाडि बढाइएको छ ।

 

प्रदेश राजधानी सुर्खेतबाट सबैभन्दा छोटो नाका मानिएको ३ सय ३२ किमीमा ६७ किलोमिटर सडक खोल्न अझै बाँकी छ । गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत २२० मिटर कडा चट्टान छिचोल्न आइतबारदेखि ब्लास्टिङ सुरु गरिएको छ । कडा चट्टानी भीर रहेकोले सडक डिभिजन जुम्लाले नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ सुरु गरेको हो ।

 

दुर्गम भौगोलिक अवस्था, जोखिमपूर्ण भीर र सीमित स्रोत–साधनका बाबजुद पनि विकासको लक्ष्यलाई अगाडि बढाउँदै चट्टान छिचोल्न ब्लास्टिङ सुरु गरिए पछि कामले गति लिने अपेक्षा गरिएको छ । बजेट सुनिश्चित भएसँगै सडक निर्माणको थालिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।

 

‘नेपाली सेनासँगको समन्वयमा कडा चट्टानमा ब्लाष्टिङको काम सुरु गरिएको छ’ उनले भने, ‘२२० किमी कडा चट्टानमा ब्लाष्टिङ गर्नु पर्ने भए पछि काम थालिएको छ ।’ १८.५ किमी ट्याक खुला गरिएको छ चालु आर्थिक वर्षमा थप ६ किमीमा ट्याक खोलेपछि झन्डै २५ किमीमा ग्राभेल गरी सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।

 

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबिच सहमति भएको हो । हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामा बताउँछन् । नेपालतर्फ सडक सुविधा छैन। स्थानीय र व्यापारीले घोडा, खच्चर र चौर गाईको सहयोगमा व्यापार गर्ने गर्छन् ।

 

गमगडी–नाक्चेलाग्ना सडक निर्माण र ग्राभेल गर्ने गरी जागृति–रारा तेन्जिन–नोऱ्याङ जेभीले ठेक्का लिएको छ । मुगु गमगढीदेखि तिब्बत नाका पुग्न पैदल पाँच दिन हिँड्नुपर्छ । नाकासम्म मोटर बाटो खुले दुई देशबिच व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ । सन् १९१५ देखि सीमावर्ती मुगु गाउँका आदिवासी जनजाति र तिब्बतीबिच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा व्यावसायिक सम्बन्ध वैध बन्न सकेको छैन ।

 

जमनाहा नाकादेखि सुर्खेत, दैलेख सदरमुकाम महावु, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म सडक विस्तारका लागि सरकारले त्रिदेशीय सडकलाई प्राथमिकतामा राखेको छ । यो सडक निर्माण भए अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर सडक छोटो र सुरक्षित हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार