माघ १ गतेदेखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

२०८२ पुष २६ गते शनिवार
सारांश
  • सूचनाहरू सोही बमोजिम कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई सूचित गरेको छ ।

काठमाडौं: नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागु हुने गरी ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा प्रतिबन्ध लगाउने यस अघि गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै 'क', 'ख', 'ग' र 'घ' वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पत्र जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित यी सूचनाहरू सोही बमोजिम कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई सूचित गरेको छ ।

 

नगद कारोबारको नयाँ सीमा र सर्तहरू सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को अधिकार प्रयोग गर्दै सरकारले नगद कारोबारको सीमा तोकेको थियो । नयाँ व्यवस्थाअनुसार अब कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा, वस्तु वा अन्य कुनै पनि कारोबार गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत वा बैंकिङ उपकरण (चेक, ड्राफ्ट आदि) प्रयोग गर्नुपर्नेछ ।

 

यद्यपि, केही विशेष अवस्थाहरूमा भने यो सीमा लागु हुने छैन । जसअन्तर्गत बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, बचत वा विदेशी मुद्रा सटही गर्दा, बैंकबाट लिएको कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्दा र वित्तीय संस्थाहरूबीच हुने नगद कारोबारमा भने बैंकिङ प्रणाली अनिवार्य छैन ।

 

यससँगै उपयुक्त स्रोत र प्रयोजन खुलाएर नगद बोकी एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा र निक्षेपकर्ताले मनासिब कारण देखाई नगद भुक्तानीका लागि निवेदन दिएमा र बैंकलाई सो कारण उचित लागेमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

यसअघि नगद कारोबारको सीमा १० लाख रहेको थियो । यो व्यवस्था लागु भएपछि २०७३ चैत १० गते प्रकाशित पुरानो सूचना खारेज हुने राष्ट्र बैंकले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार