जेनजी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल घट्छ: अध्यक्ष ढकाल

२०८२ मङ्सिर ०१ सोमवार
सारांश
  • उनका अनुसार निजी क्षेत्रको सम्पत्तिको सुरक्षा गर्न नसक्ने स्थिति आयो भने मुलुकमा नयाँ लगानी रोकिँदै जानेछ र वर्तमान लगानीकर्ता पनि निरुत्साहित हुनेछन्।

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलन असल उद्देश्यबाट सुरू भएपनि त्यसमा गलत समूहको घुसपैठ भएकाले, तोडफोड र आगजनीमा संलग्नलाई कडा कारबाही गर्न सरकारले ढिलाइ गर्न नहुने चेतावनी दिएका छन्।

 

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको मागलाई निजी क्षेत्रले सदैव समर्थन गर्दै आएको बताउँदै, आन्दोलनमा अवसरवादी घुसपैठकै कारण व्यवसायी तथा आम नागरिकको मनोबल कमजोर बन्दै गएको टिप्पणी गरे।

 

उनका अनुसार निजी क्षेत्रको सम्पत्तिको सुरक्षा गर्न नसक्ने स्थिति आयो भने मुलुकमा नयाँ लगानी रोकिँदै जानेछ र वर्तमान लगानीकर्ता पनि निरुत्साहित हुनेछन्।

 

ढकालले भने,“जेनजी आन्दोलनको उद्देश्य पवित्र थियो, सुशासन र पारदर्शिताको मागलाई हामीले पनि साधारण सभामार्फत समर्थन गरेका थियौँ। तर आन्दोलनमा गलत तत्व प्रवेश गरेर चोरी, आगजनी, लुटपाट र व्यापक तोडफोड भयो। यी घुसपैठकर्तालाई कारबाही नगर्ने हो भने व्यवसायीको मात्र होइन, आम नागरिकको मनोबल झन् खस्किन्छ। सुरक्षा नहुदाँ भविष्यमा यस्तै घुसपैठ दोहोरिन सक्छ।”

अध्यक्ष ढकालले अर्थमन्त्रालयले छोटो समयमा व्यवसायीलाई राहतका उपाय ल्याएकोमा प्रशंसासमेत गरे। साथै भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रसम्मका सेवामा डिजिटल र फेसलेस प्रणाली लागू गरिएकोप्रति सन्तोष व्यक्त गरे।

 

बैंकमा ११ खर्बभन्दा बढी लगानीयोग्य पैसा थन्किएको उल्लेख गर्दै उनले लगानी वातावरण सुधार गर्न सरकारलाई आग्रह गरे। उनका अनुसार पर्याप्त पूँजी उपलब्ध हुँदाहुँदै पनि धेरै आयोजना लगानी अभावमा रोकिएका छन्, जसले लागत वृद्धि गरिरहेको छ।

ढकालले जलविद्युत् आयोजनालाई लामो समयदेखि आईपीओ निष्कासन अनुमति नदिएको भन्दै धितोपत्र बोर्डप्रति असन्तुष्टि पनि व्यक्त गरे। उनले बोर्डमा देखिएको समस्या तत्काल समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार