मकवानपुरलाई देशकै ‘नमुना पशुपालन जिल्ला’ बनाउने प्रयास, आत्मनिर्भरतामा फड्को

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम र उपलब्धिहरूले जिल्लालाई पशुपालन तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय फड्को मारेको दाबी छ ।

हेटौँडा, १४ कार्त्तिक । मकवानपुर जिल्ला पशु सेवा कार्यालयले उल्लेख्य प्रगति गरेको दाबी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम र उपलब्धिहरूले जिल्लालाई पशुपालन तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय फड्को मारेको दाबी छ ।

 

कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार यस वर्षलाई ‘उत्पादन विस्तार र सेवा सुदृढीकरणको वर्ष’का रूपमा मनाइँदै विभिन्न किसानमुखी गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएको दाबी कार्यालयको छ । 


कार्यालयले यस वर्ष पशुपन्छी नियमन, निरीक्षण र उद्धारका क्षेत्रमा विशेष ध्यान दिएको जनाएको छ । बजारमा बिक्री हुने मासु, कुखुरा, माछा तथा दुग्धजन्य उत्पादनको गुणस्तर सुनिश्चित गर्न १,५०० भन्दा बढी अनुगमन कार्य सम्पन्न गरेको जनाएको छ । 


उक्त क्रममा स्वास्थ्य मापदण्ड नपुरा गर्ने व्यवसायिक फर्महरूलाई सचेत गराइएको र ३६ वटा अवैध रूपमा ल्याइएका पशुहरू उद्धार गरी सुरक्षित स्थानमा पठाइएको प्रमुख ठाकुरले जानकारी दिए ।


गर्भाधानमा प्रगति


पशुपालन उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यालयले कृत्रिम गर्भाधान कार्यक्रमलाई प्राथमिकतामा राख्दै १५,००० भन्दा बढी गाई–भैंसीमा गर्भाधान सेवा प्रदान गरेको छ । तालिमप्राप्त प्राविधिकहरू गाउँगाउँमा खटाइएकाले सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको कार्यालयको भनाइ छ ।


प्रमुख ठाकुरका अनुसार, ‘हामी किसानको आम्दानी वृद्धिको मूल सूत्रलाई उत्पादन वृद्धि र गुणस्तर सुधारसँग जोडिरहेका छौं ।’


आत्मनिर्भरताको सवाल


दिगो पशुपालनको आधारका रूपमा घाँसखेती प्रवद्र्धन गर्न कार्यालयले यस वर्ष ३० हजारभन्दा बढी घाँसका बीउका प्याकेट वितरण गरेको छ ।


मनहरी, बकैया, राक्सिराङ र हेटौंडा उपमहानगरका किसानहरूले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका छन् । किसान मनबहादुर लामाका अनुसार, ‘पहिले पशुका लागि दाना खरिद गर्न गाह्रो पर्थ्यो, अहिले आफ्नै बारीमा उत्पादन गर्न सक्ने भएकाले खर्च घटेको छ ।’

 

रोग नियन्त्रण र खोप अभियान

 

पशु स्वास्थ्य संरक्षणका लागि कार्यालयले खोरे रोग, रगतिलो रोग र एफएमडी नियन्त्रणमा विशेष अभियान सञ्चालन गर्दै करिब १ लाख ८० हजार खोप वितरण गरेको छ । स्थायी खोप शिविरसँगै मोबाइल टोलीमार्फत सेवा विस्तार गरिँदा पशु मृत्यु दरमा उल्लेखनीय कमी आएको कार्यालयको तथ्याङ्कले देखाउँछ । 


किसानलाई रोग पहिचान, प्राथमिक उपचार र आहार व्यवस्थापनसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो । 


उत्पादन र आम्दानीमा वृद्धि


कार्यालयका तथ्याङ्कअनुसार, चालु वर्षमा दुग्ध उत्पादनमा १८ प्रतिशत, मासु उत्पादनमा १२ प्रतिशत, र अण्डा उत्पादनमा १५ प्रतिशत वृद्धि भएको छ । सुधारिएको जात, पोषिलो आहार र नियमित स्वास्थ्य परीक्षण यसको प्रमुख कारण रहेको दाबी छ । 


हेटौंडा, मनहरी, बकैया र मकवानपुरगढीमा व्यावसायिक डेरी फार्महरू विस्तार हुँदै जाँदा स्थानीय युवाहरूका लागि रोजगारीका अवसर पनि बढेका छन् । किसान रामकृष्ण थापाका अनुसार, ‘अब हामी आत्मनिर्भर हुँदै गएका छौं, प्राविधिकहरू नियमित आउँछन् र तुरुन्तै उपचार सेवा दिन्छन् ।’


सेवाको गुणस्तर वृद्धि गर्न कार्यालयले यस वर्ष २५ जना नयाँ पशु स्वास्थ्य प्राविधिक र सहायकहरू तालिमपश्चात् कार्यक्षेत्रमा पठाएको छ ।


जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिकासँग सहकार्य गर्दै पशुपालन अनुदान, बीउ वितरण र रोग नियन्त्रण कार्यक्रमहरू एकीकृत रूपमा कार्यान्वयन गरिएका छन् ।


महिला र युवालाई पशुपालन व्यवसायमा प्रोत्साहन गर्न कार्यालयले ‘एक गाउँ, एक व्यवसायिक पशुपालक महिला’ अभियान सञ्चालन गर्दै ७० भन्दा बढी महिलालाई सहुलियत ऋण र तालिम उपलब्ध गराएको छ ।


त्यसैगरी, युवा पशुपालक उद्यम विकास कार्यक्रमअन्तर्गत ५० जना युवालाई फार्म व्यवस्थापन, दुग्ध प्रशोधन र बजार व्यवस्थापन तालिम दिइएको छ ।


चुनौती र आगामी योजना


दुर्गम क्षेत्रमा प्राविधिक सेवा पुऱ्याउन कठिनाइ, रोग परीक्षण प्रयोगशालाको अभाव, र निजी क्षेत्रसँग सहकार्य कमजोर हुनु कार्यालयका प्रमुख चुनौतीहरू छन् । 


तर प्रमुख ठाकुरका अनुसार, ‘आगामी वर्ष प्रत्येक स्थानीय तहमा पशु सेवा केन्द्र स्थापना र कृत्रिम गर्भाधान प्रयोगशालाको क्षमता विस्तार गर्ने योजना अघि बढाइएको छ ।’


मकवानपुर पशु सेवा कार्यालयको चालु वर्षको कार्यसम्पादन जिल्लाको कृषि तथा पशुपालन क्षेत्रमा उदाहरणीय मानिएको छ । किसानको आम्दानी वृद्धिदेखि रोग नियन्त्रण र उत्पादन विस्तारसम्मका उपलब्धिहरूले जिल्लालाई आत्मनिर्भर बनाउने प्रयासमा देखिन्छ । 


घाँसखेतीको विस्तार, खोप अभियानको सफलता, र कृत्रिम गर्भाधानको प्रभावकारीताले मकवानपुरलाई देशकै ‘मोडल पशुपालन जिल्ला’ बनाउने सम्भावना देखिएको छ । 


‘हामी किसानलाई केवल सेवा होइन, समाधान दिन चाहन्छौं। पारदर्शिता, पहुँच र जिम्मेवारी हाम्रो मूलमन्त्र हो— किसानले महसुस गर्ने नतिजा नै हाम्रो वास्तविक उपलब्धि हो,’ प्रमुख ठाकुरले भने । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार