छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् ।

मकवानपुर :छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ ।

 

हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट सीधै किसानको बारीमै पुगेर खरिद गर्न थालेका छन् ।

 

बाँदर आतंकपछि वैकल्पिक बालीको रोजाइ

हेटौंडाका धेरै खेतीयोग्य क्षेत्र बाँदरको आतंकले प्रभावित भएका छन् । बाँदरले धान, मकै, कोदो जस्ता परम्परागत अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू अदुवा र बेसार जस्ता नगदे बालीतर्फ आकर्षित भएका हुन् ।

 

प्रदेश सरकारको ससर्त अनुदानका साथ हेटौंडा उपमहानगरपालिकाले कृषि सहकारीमार्फत करिब पाँच हजार किलो अदुवाको बिउ ७६ जना किसानलाई वितरण गरेको थियो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार पाँच सय किलो बेसारको बिउ २९ किसानलाई वितरण गरिएको छ ।

 

बिउ वितरण योजनामा ५० प्रतिशत लगानी प्रदेश सरकारको र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ। सहभागी किसानहरूले दुई वर्षभित्र लगाएको बिउ बराबर फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । जसले बिउ अर्को किसानसम्म पुग्ने सुनिश्चित गर्छ ।

 

बाँदर आतंकबाट मुक्ति र नगद आम्दानी

 

किसान अन्जु ढकाल भन्छिन्, “पहिले बाँदरले सबै बाली नष्ट गथ्र्यो, केही फल्दैनथ्यो । हैरान भएर १० वर्षसम्म बारी बाँझो राखेको थिएँ । अहिले अदुवा र बेसार लगाउँदा राम्रो उत्पादन भएको छ ।”

 

अदुवा खेतीले किसानलाई आर्थिक राहत मात्र दिएको छैन् । बाँदरबाट सुरक्षित बालीको विकल्प पनि बनेको छ । व्यापारीहरू बारीमै पुगेर खरिद गर्ने र नगद हातमै पाउने भएकाले किसानहरूमा उत्साह बढेको छ ।

 

छठ पर्वका कारण अदुवाको मूल्य पनि बढेको छ । सामान्यतया प्रति किलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बारीमै बिक्री भइरहेको छ । बाँदरको डरले खेती छाड्न बाध्य भएका किसानहरू अहिले अदुवाको हरियो बोटमै मूल्य पाउँदा अत्यन्त उत्साहित बनेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार