मकवानपुरमा सयपत्री र मखमली फूलको व्यवसाय: तिहारमा विदेशबाट आयात गर्नुनपर्ने

२०८२ असोज ३० बिहीबार
सारांश
  • घर सजावट र पूजा–आराधनामा प्रयोग हुने सयपत्री र मखमली फूलको माग ह्वात्तै बढेसँगै किसान र व्यवसायीहरूले उत्पादन बढाएका छन् ।

हेटौंडा : नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मकवानपुरका किसानहरू फूलखेतीमा व्यस्त छन् ।

 

घर सजावट र पूजा–आराधनामा प्रयोग हुने सयपत्री र मखमली फूलको माग ह्वात्तै बढेसँगै किसान र व्यवसायीहरूले उत्पादन बढाएका छन् ।

 

नेपाल सयपत्री फूल संगठनका अध्यक्ष बालकृष्ण चौलागाईंले हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् ।

 

चौलागाईंका अनुसार यस वर्ष मकवानपुरका विभिन्न क्षेत्रमा उत्पादन भएको फूलले हेटौंडा बजारको माग पूरा गर्नेछ । ‘मकवानपुरको मनहरी, बकैया, बागमती र हेटौंडा उपमहानगरपालिकामा उत्पादित सयपत्री र मखमली फूलले यस वर्ष हेटौंडा बजारलाई सहजै पुग्नेछ,’ अध्यक्ष चौलागाईंले बताए ।

 

उनका अनुसार भारतबाट आयात हुने फूलहरूलाई अस्थायी रूपमा रोक लगाउन सके स्थानीय किसानहरूको आम्दानीमा ठूलो वृद्धि हुनेछ । ‘हामीले उत्पादन बढाएका छौं । यदि आयातमा नियन्त्रण भयो भने मकवानपुरकै फूलले बजार सम्हाल्न सक्छ,’ चौलागाईंको भनाइ छ ।

 

चौलागाईंले एक बिघाभन्दा बढी जमिनमा फूलखेती गरेका छन् । उनले यस वर्ष सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरू व्यावसायिक रूपमा उत्पादन गरेका छन्। तिहार नजिकिँदै गर्दा फूल खेतहरू सुन्तलाबगैँचाजस्तै रङ्गीन देखिएका छन् ।

 

फूलखेतीका लागि उपयुक्त माटो, मौसम र बजारको सहज पहुँचले मकवानपुरका किसानहरूलाई यस व्यवसायतर्फ आकर्षित गरेको छ । मनहरी, बकैया र बागमती गाउँपालिकाका किसानहरूले सयपत्री र मखमली खेतीलाई आम्दानीको मुख्य स्रोतको रूपमा लिन थालेका छन्।

 

स्थानीय फूल उत्पादकहरूका अनुसार हेटौंडामा मात्र तिहार अवधिमा करिब दुई करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने अनुमान छ । यस कारोबारको ठूलो हिस्सा मकवानपुरमै उत्पादित फूलहरूले ओगट्ने अपेक्षा गरिएको छ ।

 

फूल व्यवसायीहरू अहिले माला बनाउने, प्याकिङ र वितरणमा व्यस्त छन्। स्थानीय व्यवसायी मिना लामाले भनिन्, ‘अहिले हरेक घर, कार्यालय र पसलमा फूलको माग बढेको छ। हामीले दैनिक सयौं दर्जन माला तयार गर्दैछौं ।’

 

प्रदेश सरकारले पनि फूलखेतीलाई प्रोत्साहन गर्न किसानलाई बीउ, मल र प्रविधि सहयोग उपलब्ध गराइरहेको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका एक अधिकारीका अनुसार, ‘फूलखेतीले आयात प्रतिस्थापन गर्न सक्छ र स्थानीय उत्पादनलाई बजार विस्तार गर्न मद्दत पु¥याउँछ ।’

 

तिहार नजिकिँदै गर्दा मकवानपुरका खेतबारीहरू अहिले सुन्तला, पहेंलो र रातो रङ्गका फूलले झल्किरहेका छन् । किसानहरूमा उत्साह छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार