- मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।
थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले पर्यटक र भक्तजनको आकर्षण बढेसँगै गुफामा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए ।
“भिरको बीच भागमा रहेको गुफामा पुग्ने पदमार्ग बनेपछि यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ”, उनले भने, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउनका लागि गुरुसाङ्वो गुफालाई नयाँ गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएका हौँ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा गुरुसाङ्वो गुफासम्म पुग्ने दुई सय ८६ मिटर रेलिङ र सिढीसहितको पदमार्ग, एक सय ९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएका छन् ।
गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख बजेटबाट एक सय २५ मिटर ढुङ्गाको सिढीसहित पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिए । वडाध्यक्ष शेरचनका अनुसार गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माणका लागि चालु आवमा गण्डकी प्रदेश सरकारले रु २० लाख र गाउँपालिकाले रु १० लाख विनियोजन गरेको छ ।
बेनी–जोमसोम सडकको लार्जुङ र बोक्सीखोलाबाट नाउरीकोटसम्म सवारीसाधनमार्फत र त्यहाँबाट ४५ मिनेट पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीस्थित पहाडको बीच भागमा रहेको गुरुसाङ्वो गुफामा पुगिन्छ । भिरालो गुफा करिब ५० मिटर लामो छ ।
गुफाभित्र गाईको सिङ्ग, भैँसीको थुन, हात्तीको सुढ, विभिन्न देवीदेवताका मुर्ति, पहाड, नदीनालालगायत आकृति देखिन्छन् । गुफाको मुनी झरना छ । वौद्ध धर्मावलम्बीका धर्मगुरु रिम्पोचेले तपस्या गरेकाले गुरुसाङ्वो गुफाको धार्मिक महत्व रहेको मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार नाउरीकोट गाउँबाट गुफा नजिकै जोड्ने लामो झोलुङ्गे पुल निर्माणका लागि हालै सर्वेक्षण पनि भएको छ ।
गुफा परिसरमा समुदाय स्थलमा लामाहरूको बसोबासका लागि आश्रयस्थल निर्माण भएका छन् । सिक्सीमका एक जना वौद्ध धर्मावलम्बीको व्यक्तिगत लगानीमा गुम्बाबाट करिब पाँच सय मिटर तल छोर्तेन निर्माण गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।