एल क्लासिको आजराति हुदै

८ कार्तिक, २०८३
सारांश
  • स्पेनिस ला लिगाअन्तर्गत विश्व फुटबलकै चर्चित प्रतिस्पर्धा एल क्लासिकोमा आज आइतबार बार्सिलोना र रियल म्याड्रिड भिड्दै छन् ।

काठमाडौँ : स्पेनिस ला लिगाअन्तर्गत विश्व फुटबलकै चर्चित प्रतिस्पर्धा एल क्लासिकोमा आज आइतबार बार्सिलोना र रियल म्याड्रिड भिड्दै छन् ।

 

बार्सिलोनाको क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार राति १: ४५ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमा जित निकाल्दै चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँगको दूरी बढाउने लक्ष्यमा छ । अर्कोतर्फ, लगातार चार खेल जितेको रियल म्याड्रिड बार्सिलोनालाई हराउँदै उपाधि होडमा आफूलाई बलियो बनाउने प्रयासमा हुनेछ ।

 

बार्सिलोनाले यस सिजन ला लिगामा खेलेका नौवटै खेल जितेको छ । टोली २७ अंकसहित शीर्ष स्थानमा छ । तर, च्याम्पियन्स लिगमा मंगलबार पेरिस सेन्ट जर्मेनसँग ४–२ गोलले पराजित भएपछि बार्सिलोना दबाबमा देखिएको छ । उक्त हार यस सिजन सबै प्रतियोगितामा बार्सिलोनाको पहिलो हार थियो ।

 

रियल म्याड्रिड भने पछिल्ला चार खेलमा लगातार विजयी भएको छ । टोलीले च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई पनि पराजित गरेको थियो । ला लिगामा रियल सात खेल जित्दै बार्सिलोनाभन्दा छ अंकले पछाडि रहेको छ । एट्लेटिको म्याड्रिड र रियल बेटिससँगको हारले भने रियलको लिग अभियानमा असर पारेको छ ।

 

यस खेलमा रियल म्याड्रिडका प्रशिक्षक जोसे मौरिन्होको पुनरागमन विशेष चर्चामा छ । बार्सिलोनाविरुद्ध रियलको प्रशिक्षकका रूपमा उनले यसअघि १७ एल क्लासिको खेलेका थिए । यसपटकको खेल उनको १८औँ एल क्लासिको हुनेछ । मौरिन्होले रियलको प्रशिक्षक हुँदा सुरुका १० एल क्लासिकोमध्ये एक खेल मात्र जितेका थिए। तर, बार्सिलोनाविरुद्धका पछिल्ला पाँच खेलमा अपराजित रहँदै तीन खेल जितेका थिए ।

 

रियलका प्रशिक्षक मौरिन्होले बार्सिलोनाजस्तो स्थापित टोलीसँग आफ्नो टोलीको तुलना गर्नु उचित नहुने बताएका छन् । यसै गर्मीयाममा रियलको जिम्मेवारी सम्हालेका उनले आफ्नो टोली निर्माणको प्रारम्भिक चरणमा रहेको बताएका थिए ।

 

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भने मौरिन्होको अनुभव र सफलताको प्रशंसा गरेका छन् । उनले रियल आत्मविश्वासका साथ मैदानमा आउने अपेक्षा व्यक्त गर्दै एल क्लासिको टोलीको स्तर सुधार्ने अवसर भएको बताएका छन् ।

बार्सिलोना लगातार तेस्रो ला लिगा उपाधितर्फ अघि बढ्ने लक्ष्यमा छ । रियल म्याड्रिड भने पछिल्ला दुई सिजन कुनै प्रमुख उपाधि जित्न नसकेको अवस्थाबाट फर्कने प्रयासमा छ ।

 

बार्सिलोनाले पछिल्ला सात एल क्लासिकोमध्ये छ खेल गुमाएको तथ्यले पनि रियलका लागि मनोबल बढाउने आधार दिएको छ । तर, यस सिजन लिगमा बार्सिलोनाको शतप्रतिशत जितको नतिजा कायम छ ।

 

बार्सिलोनाका मिडफिल्डर दानी ओल्मो तिघ्राको चोटका कारण मैदानमा उत्रने छैनन् । जुलेस कुन्दे, एरिक गार्सिया, आन्द्रेस क्रिस्टेन्सन र रूनी बार्डघजी पनि चोटका कारण अनुपस्थित रहने सम्भावना छ । रियल म्याड्रिडका भिनिसियस जुनियर प्रतिबन्धका कारण खेल्ने छैनन् । राउल असेन्सियो र रोड्रिगो पनि चोटका कारण टोलीमा उपलब्ध नहुने बताइएको छ ।

 

दुवै टोलीबीच अहिलेसम्म एल क्लासिकोमा २६४ खेल भएका छन् । तीमध्ये बार्सिलोनाले १०६ र रियल म्याड्रिडले १०६ खेल जितेका छन्। बाँकी ५२ खेल बराबरीमा सकिएका छन् ।

 

ऐतिहासिक प्रतिस्पर्धामा यस भिडन्तले लिगको उपाधि होडमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । बार्सिलोना अग्रता बढाउने र रियल दूरी घटाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार