समुह बी बाट स्विजरल्याण्ड र क्यानडा नकआउट चरणमा, बोस्निया हर्जेगोभिनाको पनि सम्भावना कायमै

२०८३ अषाढ़ ११ विहीवार
सारांश
  • स्विट्जरल्यान्डले सह–आयोजक क्यानडामाथि २-१ को जित निकाल्दै विश्वकप फुटबल २०२६ को समूह ‘बी’ विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।

काठमाण्डौ, ११ अषाढ़ । स्विट्जरल्यान्डले सह–आयोजक क्यानडामाथि २-१ को जित निकाल्दै विश्वकप फुटबल २०२६ को समूह ‘बी’ विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ ।

 

भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र दुई गोल गर्दै स्विट्जरल्यान्डले लगातार चौथो विश्वकपमा नकआउट चरण पुग्ने उपलब्धि दोहोर्‍याएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै अग्रता लियो । जोहान मान्जाम्बीको उत्कृष्ट पासमा रुबेन भार्गासले सहज फिनिस गर्दै टोलीलाई अघि बढाए । ११ मिनेटपछि मान्जाम्बी स्वयं गोलकर्ताका रूपमा देखिँदा स्विट्जरल्यान्डले २-० को बलियो अग्रता बनायो ।

 

खेलको ७६औँ मिनेटमा वैकल्पिक खेलाडी प्रोमिस डेभिडले गोल गर्दै क्यानडालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि थप गोल हुन सकेन । जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डका कप्तान ग्रानिट झाकाले राष्ट्रिय टोलीका लागि १४९औँ खेल खेल्दा टोलीले प्रभावशाली प्रदर्शन गर्‍यो । अब स्विट्जरल्यान्डले जुलाई ३ मा समूह ‘ई’, ‘एफ’, ‘जी’, ‘एच’, ‘आई’ वा ‘जे’ मध्ये कुनै एक समूहको तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

पराजित भए पनि क्यानडाले इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ । यसअघि बोस्निया–हर्जेगोभिनासँग बराबरी खेलेको र कतारलाई फराकिलो अन्तरले हराएको क्यानडा समूहमा दोस्रो स्थानमा रह्यो। अब उसले जुन २८ मा क्यालिफोर्नियास्थित लस एन्जलस रंगशालामा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

 

यता, समूहको अर्को खेलमा बोस्निया–हर्जेगोभिनाले कतारलाई ३-१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ ।

 

सियाटलमा भएको खेलमा बोस्नियाका १८ वर्षीय केरिम अलाजबेगोभिचले २९औँ मिनेटमा शानदार गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि कप्तान एडिन जेकोको प्रहार डिफेन्डर सुल्तान अल ब्रेकमा लागेर जाली चुम्दा बोस्नियाले अग्रता दोब्बर बनायो । कतारका कप्तान हसन अल–हाइडोसले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अन्तर घटाए पनि बोस्नियाले खेल नियन्त्रणमा राख्यो ।

 

खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडी एर्मिन माह्मिकले गोल गर्दै बोस्नियाको जित सुनिश्चित गरे। राष्ट्रिय टोलीका लागि १५०औँ खेल खेलेका जेकोले पनि टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

 

बोस्निया र क्यानडा दुवैको समान चार अंक भए पनि आपसी नतिजाका आधारमा क्यानडा दोस्रो र बोस्निया तेस्रो स्थानमा रह्यो । त्यसैले बोस्नियाले प्रत्यक्ष रूपमा अन्तिम ३२ मा स्थान बनाउन नसके पनि उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूमध्ये एक बन्ने आशा कायम राखेको छ । एक अंकमा सीमित कतार भने समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

 

समूह ‘बी’ बाट स्विट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा पुगिसकेका छन् भने बोस्निया–हर्जेगोभिनाको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार