आर्सनलले २२ वर्षपछि जित्यो प्रिमियर लिगको उपाधि

२०८३ जेठ ०६ बुधवार
सारांश
  • आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

काठमाण्डौ, ०६ जेठ । आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराती म्यानचेस्टर सिटी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको हो ।

 

अघिल्ला आठ सिजनमध्ये छ पटक उपाधि जितेको म्यानचेस्टर सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्‍याउन जित अनिवार्य थियो । तर बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि पेप ग्वार्डिओलाको टोली उपाधि रक्षा गर्न असफल भयो ।

 

यो आर्सनलको इतिहासमा १४औँ प्रिमियर लिग उपाधि हो । सर्वाधिक २०–२० पटक उपाधि जितेका लिभरपुल र म्यानचेस्टर युनाइटेडपछि आर्सनल तेस्रो स्थानमा छ । यसअघि आर्सनलले सन् २००३–०४ मा अन्तिमपटक उपाधि जितेको थियो । त्यस सिजन प्रशिक्षक आर्सेन वेङ्गरको नेतृत्वमा टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

 

मिकेल आर्टेटाको टोली यस सिजन युरोपेली च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । मे ३० मा हुने फाइनलमा आर्सनलले पिएसजीसँग खेल्नेछ । आर्सनल पहिलोपटक युरोपेली च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

 

सन् २०१९ मा प्रशिक्षक बनेका आर्टेटा प्रिमियर लिग खेलेका पूर्व खेलाडीमध्ये प्रशिक्षकका रूपमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । लगातार तीन सिजन उपविजेतामै सीमित भएपछि यसपटक भने उनले टोलीलाई सफलतामा पुर्‍याएका हुन् ।

 

सन् २०२३ र २०२४ मा आर्सनलले अग्रता लिए पनि अन्तिम समयमा म्यानचेस्टर सिटीले उपाधि खोसेको थियो । गत वर्ष लिभरपुलपछि दोस्रो स्थानमा सीमित बनेको आर्सनलले यसपटक भने लामो प्रतीक्षा अन्त्य गरेको हो ।

 

आर्सनलको सफलताको मुख्य आधार बलियो रक्षापङ्क्ति र निश्चित अवस्थाबाट गरिएको प्रभावकारी प्रदर्शन रह्यो । टोलीले ३७ खेलमा लिगकै कम २६ गोल मात्र व्यहोरेको छ भने १९ खेलमा गोल खानबाट जोगिएको छ ।

 

सन् २०१७ पछि पहिलोपटक म्यानचेस्टर सिटी वा लिभरपुल बाहेकको टोली च्याम्पियन बनेको हो । खेलपछि ग्वार्डिओलाले आर्सनललाई बधाई दिएका छन् । उनले प्रशिक्षक मिकेल आर्टेटा, टोलीका खेलाडी, प्रशिक्षक समूह र समर्थकलाई उपाधिको शुभकामना दिँदै आर्सनल उपाधिको योग्य टोली रहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार