राशिफल: वि.सं. २०८२ फागुन १८ गते सोमवार

२०८२ फाल्गुण १८ सोमवार
सारांश
  • आज नेपालमा सुर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज काठमाडौँसहित पहाडी जिल्लामा होली परेको छ ।

काठमाण्डौ, १८ फाल्गुण । आजको राशिफल वि.सं. २०८२ फागुन १८ गते सोमवार ईस २०२६ मार्च २ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज काठमाडौँसहित पहाडी जिल्लामा होली परेको छ  ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

 

कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्धीसँग अन्तर्क्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

 

सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । लामो समयदेखि गर्छु-गर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । प्रेमीको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

 

बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

 

कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

 

प्रेमीसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध-सम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

 

रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

 

आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

 

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक सौहार्दता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ-लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

 

एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

 

नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

 

पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

 

चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार