राशिफल: वि.सं. २०८२ फागुन ८ गते शुक्रवार

२०८२ फाल्गुण ०८ शुक्रवार
सारांश
  • आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । त्यस्तै आज अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस परेको छ ।

काठमाण्डौ, ०८ फाल्गुण । आजको राशिफल वि.सं. २०८२ फागुन ८ गते शुक्रवार ईस २०२६ फेब्रुअरी २० नेपाल सम्बत ११४६ चिल्लाथ्व तृतीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल तृतिया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । त्यस्तै आज अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस परेको छ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्‌नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्‌नो पक्षमा नरहे पनि बुद्धि र तरिका प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुखरसन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके-ताकेका काम पनि सम्पन्न हुने समय हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिष्पर्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । खानपानप्रतिको आकर्षण बढ्ने दिन हो, चिल्लोचापिल्लो र गुलियो पदार्थमा रुचि जाग्नेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले ताला-साँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर प्रेमीको मन राख्न सकिने छ । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । व्यक्तित्व विकासको चिन्ता बढ्ने दिन छ । नयाँ सीप वा ज्ञान प्राप्तिका निमित्त अवसर मिल्नेछ, जागरूकता देखाएमा भाग्यले साथ दिने समय हो । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार