त्रिशूली–३ ए र ३ बीमा फसेका कामदारको उद्धारमा ढिलाइप्रति सांसद थपलियाको आपत्ति

१८ भाद्र, २०८३, बिहिवार
सारांश
  • ‘राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्न हुँदैन,’ उनले भनिन्।

काठमाडौं: नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता) ले त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ए र ३ बी जलविद्युत आयोजनामा फसेका सयौं कामदारको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै बाढी प्रभावित जिल्ला धादिङकी सांसद थपलियाले बाढी आएको नौ दिन बितिसक्दा पनि आयोजनामा फसेका नागरिकको प्रभावकारी उद्धार हुन नसकेको विषय गम्भीर रहेको बताइन्। वेपत्ता नागरिकका परिवारले समेत राज्यको उद्धार प्रयासमाथि प्रश्न उठाउन थालेको उनको भनाइ थियो।

 

‘राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्न हुँदैन,’ उनले भनिन्।

 

सांसद थपलियाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोखिम मोलेर उद्धार तथा राहतमा गरिरहेको कामको प्रशंसा गर्दै संकटको यस घडीमा आफूहरू सरकारसँगै रहेको बताइन्।

 

उनले आफ्नो जिल्ला धादिङमा बाढीबाट भएको क्षति भयावह रहेको जानकारी दिँदै हालसम्म १४४ जना जिल्लावासी वेपत्ता भएको र तीमध्ये १० जनाको शव पहिचान भएको बताइन्। बाढीका कारण करिब ५०० परिवार विस्थापित भएको, ६ वटा पक्की पुल र १३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएको तथा हजारौं रोपनी खेतीयोग्य जमिन कटानमा परेको उनले सदनलाई जानकारी गराइन्।

 

उनका अनुसार धादिङका चार गाउँपालिका बाढीबाट प्रभावित भएका छन्। गजुरी र गल्छी गाउँपालिकामा विशेषगरी ठूलो क्षति भएको उनले बताइन्। निजी तथा सरकारी विद्यालय, पेट्रोल पम्प, होटल, रिसोर्टलगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनको भनाइ छ।

राहत वितरणका क्रममा स्थानीय जनप्रतिनिधिमाथि मिथ्या आरोप लगाएर पीडितमाथि थप पीडा दिने काम नगर्न पनि उनले आग्रह गरिन्। राहत वितरणमा स्थानीय जनप्रतिनिधिलाई विश्वास गर्नुपर्ने उनको धारणा थियो।

 

सांसद थपलियाले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको कटानका कारण पाँच दिनदेखि यातायात अवरुद्ध हुँदा खाद्यान्न, औषधि र इन्धनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत समस्या उत्पन्न भएको बताइन्।

 

त्यसैगरी त्रिशूली नदीमाथिको फुर्केखोलाको पक्की पुल बगाउँदा धादिङ जिल्ला सदरमुकाम तथा काठमाडौंसँगको सम्पर्कसमेत प्रभावित भएको भन्दै उनले तत्काल बेलीब्रिज निर्माण गरी सडक सञ्चालन गर्न सरकारसँग जोडदार माग गरिन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार