भोटेकोशी बाढीबारे परराष्ट्रमन्त्री खनालको कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई ब्रिफिङ
१८ भाद्र, २०८३, बिहिवार
- उनले बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, लेदो र ढुंगामाटो बगाएर रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुर्याएको बताए ।
काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको उद्धार तथा राहत प्रयास र विदेशी नागरिकको अवस्थाबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई ब्रिफिङ गरेका छन् ।
बिहीबार आयोजित ब्रिफिङमा मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित नेपाल–चीन सीमामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पछिल्लो समयको स्मृतिमा नभएको ठूलो विपत्तिका रूपमा चित्रण गरे । उनले बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, लेदो र ढुंगामाटो बगाएर रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुर्याएको बताए ।
मन्त्री खनालका अनुसार हालसम्म १२०४ जनाको शव फेला परेको छ भने करिब ४२०० जना अझै बेपत्ता छन् । बाढीबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए । उद्धार तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक प्रमाणीकरण भइरहेको उनले बताए ।
सरकारले विपत्तिको पहिलो दिनदेखि नै उद्धार, खोजी, उपचार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको मन्त्री खनालले बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
विपत्तिको जटिलता र आवश्यक विशेषज्ञताका आधारमा भारत, चीन र दक्षिण कोरियाबाट विशेष सुरुङ उद्धार टोली ल्याइएको पनि उनले बताए। भारतको टोली लाङटाङ र चिलिमे, चीनको टोली माथिल्लो त्रिशूली–३ ए तथा दक्षिण कोरियाको टोली माथिल्लो त्रिशूली–१ मा उद्धार कार्यमा खटिएको उनले जानकारी दिए । इजरायलको टोलीले नदीको तल्लो क्षेत्रमा शव खोजी कार्यमा सहयोग गरिरहेको उनले बताए ।
मन्त्री खनालले विदेशी नागरिकको खोजी, पहिचान र परिवारसँग समन्वयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आकस्मिक नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगमार्फत बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने र आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था मिलाउने काम भइरहेको उनले जानकारी दिए ।
बाढीबाट घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको भन्दै मन्त्री खनालले विस्तृत क्षति मूल्यांकन भइरहेको बताए । पुनर्निर्माणका लागि आवश्यक स्रोत ठूलो हुने र त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिने उनले बताए ।
नेपालले विपत्तिपछि भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका लगायत विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकसहितका संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ । मन्त्री खनालले उद्धार विशेषज्ञता, उपकरण, स्वास्थ्य तथा न्यायिक पहिचान सहयोग र आर्थिक सहायताले प्रभावित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले भोटेकोशी बाढीलाई जलवायु परिवर्तन र हिमाली क्षेत्रको बढ्दो जोखिमसँग जोड्दै जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् तयारी र जोखिमयुक्त संरचनाको पुनर्निर्माणलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
साथै मन्त्री खनालले भोटेकोशी बाढीको क्षति निश्चित क्षेत्रमै सीमित रहेको भन्दै नेपालका अन्य क्षेत्र सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश सम्बन्धित देशका नागरिक तथा सरकारसम्म पुर्याउन कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
अन्तर्राष्ट्रिय समुदायबाट राहत होइन, क्षतिपूर्ति चाहिन्छ: सांसद झा
-
भोटेकोशी बाढीबारे परराष्ट्रमन्त्री खनालको कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई ब्रिफिङ
-
त्रिशूली–३ ए र ३ बीमा फसेका कामदारको उद्धारमा ढिलाइप्रति सांसद थपलियाको आपत्ति
-
प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : प्रवक्ता खरेल
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।