बाढी प्रभावित क्षेत्रको अनुगमनपछि गगन थापाको भावुक सन्देश: 'राज्य मात्र होइन, समाज नै अभिभावक बन्नुपर्छ'
१८ भाद्र, २०८३, बिहिवार
- विशेषज्ञहरूको टोलीसहित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका थापाले बाढीले पुर्याएको भौतिक क्षतिको तुलनामा मानवीय र भावनात्मक क्षति निकै गहिरो रहेको बताएका छन्।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाढी र पहिरोबाट अति प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत भ्रमणपछि एक विशेष भिडियो सन्देश जारी गर्दै सरकारको कार्यशैलीमा सुधार गर्न र नागरिकलाई मानवीय संवेदनाका साथ सहयोग गर्न अपिल गरेका छन्।
विशेषज्ञहरूको टोलीसहित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका थापाले बाढीले पुर्याएको भौतिक क्षतिको तुलनामा मानवीय र भावनात्मक क्षति निकै गहिरो रहेको बताएका छन्।
महामन्त्री थापाले सुरुङ (टनेल) मा फसेका नागरिकहरूको उद्धारका लागि समयमै वैदेशिक सहयोग नलिएको भन्दै सरकारको आलोचना गरे। उनले भने, "समयमा सहयोग नमागेर गल्ती भइसक्यो, अब त्यो गल्ती ढाकछोप गर्ने तिर होइन, बाँकी रहेकाहरूको जीवन बचाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्छ।" एउटा मात्र जीवन बचाउन सक्नु पनि अहिलेको लागि ठुलो उपलब्धि हुने उनको तर्क छ।
अनुगमनका क्रममा देवीघाट र सिर्खाली क्षेत्रमा देखिएको विभत्स दृश्यबारे थापाले भावुक हुँदै वर्णन गरेका छन्। जताततै छरिएका शव र त्यसबाट निस्किएको गन्धका बीचमा बस्न बाध्य नागरिकहरूको पीडालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनले बताए। "त्यो गन्ध हाम्रै दाजुभाइको शरीरको हो, न त त्यसलाई गन्हायो भनेर भाग्न मिल्छ, न त त्यहीँ बस्न सकिन्छ। यस्तो अवस्थामा राज्यले विशेष संवेदनशीलता देखाउनुपर्छ," उनले भने।
थापाले गल्छी, तार्केश्वर, विदुर र दुप्चे जस्ता स्थानीय तहका जनप्रतिनिधिहरूले सीमित स्रोतसाधनका बीच पनि प्रशंसनीय काम गरेको उल्लेख गरे। उनले वडाध्यक्षहरू दीपक कार्की, बद्री रिमाल, कमल श्रेष्ठ, राजकुमार श्रेष्ठ र रबिन्द्र नेपालले जोखिम मोलेर गरेका कामहरूको उदाहरण दिए।
साथै, सङ्घीय सरकारले 'लिड' गर्ने र प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नो भूमिका स्पष्ट पार्ने हो भने राहत र उद्धार कार्य अझ व्यवस्थित हुने उनले बताए। राहत वितरणमा खाद्य सामग्री मात्र नभई अस्थायी शौचालय, महिलाका लागि भित्री वस्त्र (अन्डरगार्मेन्ट्स) र दीर्घरोगीका लागि औषधिको अभाव खड्किएको उनको भनाई छ।
बाढीले घरजग्गा मात्र होइन, नागरिकको जीविकोपार्जन नै खोसेको थापाले बताए। पहिरोपछि बसाईं सरेर आएका र वैदेशिक रोजगारीको कमाइबाट जोडेको सम्पत्ति गुमाएका मानिसहरू अब 'सुकुम्वासी' बन्ने चिन्तामा रहेको उनले बताए। सरकारले केवल सडक र पुल मात्र नभई मानिसहरूको सुरक्षित बसोबास र व्यवसाय पुन:स्थापनाको ग्यारेन्टी गर्नुपर्नेमा उनले जोड दिए।
सन्देशको अन्त्यमा थापाले गल्छीमा भेटिएका एक अनाथ बालकको कथा सुनाउँदै सबैलाई भावुक बनाए। बाढीमा बाबु, आमा र हजुरआमा गुमाएका ती बालकले "बाटो कहिले बन्छ?" भनेर सोधिरहँदा थापा निशब्द बनेका थिए। "बाटो बनेपछि ममी–बाबा आउनुहुन्छ भनेर उनलाई ढाँटिएको रहेछ। ती बालकले पछि थाहा पाउनेछन् कि विपत्तिले सबै कुरा लग्यो, तर त्यही बेला समाजले उनलाई सम्हाल्यो भन्ने आभास हामीले गराउनुपर्छ," थापाले भने।
थापाका अनुसार अनुगमन टोलीले देखेका र भोगेका विषयहरूलाई समेटेर नेपाली कांग्रेसले छिट्टै एक विस्तृत प्रतिवेदन तयार पार्नेछ। उक्त प्रतिवेदन सरकारलाई बुझाएर आवश्यक नीतिगत सुधार र राहत प्याकेजका लागि दबाब दिइने उनले जानकारी दिए।
अन्त्यमा, उनले सहयोग गर्न सक्नेलाई मानवीय कार्यमा जुट्न र सहयोग गर्न नसक्नेलाई पनि पीडितप्रति 'कटु वचन' नबोल्न आग्रह गर्दै सबैलाई यो महाविपत्तिमा एकजुट हुन अपिल गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : प्रवक्ता खरेल
-
लाङटाङको सुरुङमा दुईजना मृत भेटिए
-
प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव
-
बाढी प्रभावित क्षेत्रको अनुगमनपछि गगन थापाको भावुक सन्देश: 'राज्य मात्र होइन, समाज नै अभिभावक बन्नुपर्छ'
-
देउवा पक्षले महाधिवेशनको तयारी गरेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।