सरकारको निर्णयले अस्थिरता बढ्न सक्छ, पुनर्विचार गरोस्- पूर्वराष्ट्रपति भण्डारी

१४ चैत्र, २०८२, शनिवार
सारांश
  • शनिबार विज्ञप्ति जारी गर्दै भण्डारीले ओली तथा लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताउदै यो वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने बताएकी हुन् ।

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताएकी छन् ।

 

शनिबार विज्ञप्ति जारी गर्दै भण्डारीले ओली तथा लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताउदै यो वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने बताएकी हुन् ।

 

उनले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी छन् ।

 

उनले भनेकी छन्- 'कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष श्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो । यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ ।'

 

भण्डारीले कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक पर्ने भन्दै हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने उल्लेख गरेकी छन् ।

 

उनले सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय भएको बताउदै लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुने बताएकी छन् ।

 

साथै सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार