अर्थमन्त्रीमा स्वर्णिम र परराष्ट्रमा शिशिर लगभग पक्का, गृहमा रसाकस्सी

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • भागबण्डाभन्दा पनि 'क्षमता र विज्ञता' लाई प्राथमिकता दिने बालेनको रणनीतिअनुसार यी दुई नाममा सहमति भएको बताइन्छ ।

काठमाडौँ: प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने नयाँ सरकारमा मन्त्रीहरूको भागबण्डा र नामबारे गृहकार्य अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई जना प्रभावशाली नेताहरूको नाम मन्त्रीका लागि लगभग टुङ्गिएको छ ।

 

पार्टी सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेनबीच डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री र शिशिर खनाललाई परराष्ट्रमन्त्री बनाउने विषयमा सहमति जुटेको हो । भागबण्डाभन्दा पनि 'क्षमता र विज्ञता' लाई प्राथमिकता दिने बालेनको रणनीतिअनुसार यी दुई नाममा सहमति भएको बताइन्छ ।

 

अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेको इन्ट्री
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट पीएचडी, हार्वर्डबाट मास्टर्स र लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक गरेका वाग्लेसँग विश्व बैंक र युएनडीपी (UNDP) मा उच्च तहमा काम गरेको अनुभव छ ।

 

नेपालको राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका वाग्ले तनहुँ-१ बाट दोस्रोपटक भारी मतका साथ निर्वाचित सांसद हुन् । सुरुमा बालेनले अर्थ मन्त्रालयमा आफ्नै विश्वासपात्र राख्न चाहे पनि वाग्लेको कद र विज्ञताका अगाडि अन्य विकल्प नदेखिएपछि उनी सहमत भएका हुन् । रास्वपा सभापति लामिछानेले निर्वाचनअघि नै वाग्लेलाई 'भावी अर्थमन्त्री' का रूपमा प्रस्तुत गरेका थिए ।

 

परराष्ट्रमा शिशिर खनालको बलियो सम्भावना
रास्वपाको विदेश विभाग प्रमुख रहेका शिशिर खनाललाई परराष्ट्रमन्त्री बनाउन दुवै नेता सकारात्मक देखिएका छन् । अमेरिकाको युनिभर्सिटी अफ ब्रिजपोर्ट र युनिभर्सिटी अफ विस्कोन्सीनबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सार्वजनिक नीतिमा उच्च शिक्षा हासिल गरेका खनालको छवि 'शालिन र समन्वयकारी' मानिन्छ ।

 

बालेन र रविबीचको सम्बन्धलाई जोड्ने सेतुका रूपमा चिनिने खनाल काठमाडौँ-६ बाट लगातार दोस्रोपटक विजयी भएका हुन् । यसअघि छोटो समय शिक्षामन्त्री बनेका खनाल यसपटक पाँच वर्षको बलियो म्यान्डेटसहित महत्वपूर्ण जिम्मेवारीमा फर्कने तयारीमा छन् ।

 

गृह मन्त्रालयमा देखिएको 'डेडलक'
सरकारको सबैभन्दा शक्तिशाली मानिने गृह मन्त्रालयमा भने बालेन र रविबीच कुरा मिल्न बाँकी छ । बालेनले आफ्नो 'कोर टिम' का सदस्य तथा रुपन्देही-१ बाट निर्वाचित सांसद सुनिल लम्साललाई गृहमन्त्री बनाउन चाहेका छन् । तर, रवि लामिछानेले भने आफ्ना विश्वासपात्र डीपी अर्याललाई गृहमा पठाउन जोड गरिरहेका छन् ।

 

जुनियर व्यक्तिलाई गृहजस्तो संवेदनशील मन्त्रालय दिने बालेनको प्रस्तावमा रवि सहमत छैनन् भने रविको प्रस्तावमा बालेन सशंकित छन् । यस्तै, 'जेनजी' आन्दोलनका सुदन गुरुङले पनि गृहमा इच्छा देखाएका छन्, यद्यपि उनलाई खेलकुद मन्त्रालय दिने सम्भावना बढी छ ।

 

यदि गृह मन्त्रालयमा सहमति नजुट्ने हो भने बालेनले उक्त मन्त्रालय आफैँसँग राखेर एकजना राज्यमन्त्री नियुक्त गर्ने विकल्पमा समेत छलफल सुरु भएको स्रोतको दाबी छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार