राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन हुने

२०८२ चैत्र ०३ मङ्गलवार
सारांश
  • समानुपातिकतर्फ राप्रपाबाट चार नयाँ अनुहार संसद छिर्दैछन्।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद ज्ञानेन्द्र शाही संसदीय दलको नेता बन्ने भएका छन्। जुम्लाबाट लगातार दोस्रो पटक निर्वाचित शाहीलाई पार्टीले यो जिम्मेवारी दिने तयारी गरेको हो।

 

यसपटकको निर्वाचनमा राप्रपाको नतिजा उल्लेख्य रूपमा खस्किएको छ। २०७९ को निर्वाचनमा १४ सिट (प्रत्यक्ष ७ र समानुपातिक ७) जितेको राप्रपा यसपटक ५ सिटमा सीमित भएको छ। संसदमा पाँचौँ ठूलो दलबाट झरेर राप्रपा छैटौँ स्थानमा पुगेको छ भने भर्खरै स्थापित श्रम संस्कृति पार्टीले समेत यसलाई उछिनेको छ।

 

शाहीको जितले राप्रपाको 'राष्ट्रिय पार्टी' को हैसियत जोगिएको छ। राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने संवैधानिक प्रावधानका कारण शाहीको विजय पार्टीका लागि निर्णायक बन्यो। उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले माला र खादा लगाएर स्वागत गरिसकेका छन्।

 

समानुपातिकतर्फ राप्रपाबाट चार नयाँ अनुहार संसद छिर्दैछन्। जसमा अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययन गरेकी प्रखर वक्ता खुस्बु ओली (खस आर्य महिला), उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा (आदिवासी जनजाति महिला), मधेस प्रदेश अध्यक्ष भरत गिरी (खस आर्य पुरुष) र सहायक महामन्त्री ताहिर अली (मुस्लिम) रहेका छन्। 

 

प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आकार सानो भए पनि संसदमा विचार र एजेन्डाका साथ सशक्त रूपमा प्रस्तुत हुने बताएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार