कोशीका २८ सिटमध्ये कम्तीमा १९ जित्ने रास्वपाको दाबी, इटहरी सभापछि नेता उत्साहित
२०८२ फाल्गुण १३ बुधवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ ।
विराटनगर, १३ फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो ।
सुनसरीको इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह सहित कोसी प्रदेशका विभिन्न क्षेत्रका प्रतिनिधि तथा उम्मेदवारहरूले सम्बोधन गरेका थिए । नेताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पुराना राजनीतिक अभ्यासको अन्त्य गर्दै ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याए ।
सभापति लामिछानेले २०४६ सालपछि भएका सबै प्रमुख काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी पीडितहरूको बचत रकम फिर्ता गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए । उनले ‘राजनीतिमा जबाफदेहिता र पारदर्शिता कायम नगरी देश अघि बढ्न सक्दैन’ भन्दै परिवर्तनको एजेन्डामा जनताको साथ मागे ।
त्यसैगरी, नेता शाहले देशलाई रूपान्तरण गर्न सक्षम शक्ति रास्वपा नै भएको दाबी गर्दै परम्परागत राजनीतिक दलप्रति जनताको वितृष्णा बढ्दै गएको उल्लेख गरे । उनले युवापुस्ताको आशा र अपेक्षा सम्बोधन गर्ने राजनीतिक शक्ति आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरूको उल्लेख्य उपस्थितिले पार्टी पङ्क्ति उत्साहित देखिएको थियो । सभा स्थलमा भेटिएकी एक महिलाले भनिन्, ‘कोसी प्रदेशभरि घण्टी बजिसकेको छ, अब परिवर्तनको समय आएको छ ।’ रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ प्रति सङ्केत गर्दै उनले प्रदेशमा परिवर्तनको लहर देखिएको दाबी गरिन् ।
कार्यक्रम समापनपछि नेपाल न्युज बैङ्कसँग गरिएको संक्षिप्त कुराकानीमा रास्वपा कोसी प्रदेशका महामन्त्री तथा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापाले अपेक्षा भन्दा बढी जनसहभागिता रहेको बताए ।
‘जनताको उत्साहले हामी थप जिम्मेवार बनाएको छ,’ उनले भने, ‘हामी कोशीका २८ निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ क्षेत्रमा जित्ने अवस्थामा छौं भन्ने हाम्रो आन्तरिक मूल्यांकन छ ।’
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कोसी प्रदेशमा कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेको थिएन । यद्यपि सुनसरी र मोरङका केही क्षेत्रमा पार्टीले प्रतिस्पर्धात्मक मत ल्याएको थियो । त्यसयता सङ्गठन विस्तार, जनसम्पर्क अभियान र स्थानीय मुद्दामा सक्रिय उपस्थितिले आफ्नो आधार विस्तार भएको दाबी पार्टी नेताहरूको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।