धादिङ क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार रिजालको प्रतिबद्धता पत्र सार्वजनिक

२०८२ फाल्गुण ११ सोमवार
सारांश
  • युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा घरमै बसेर विश्व बजारमा काम गर्न योग्य बनाउन ‘डिजिटल धादिङ’ को अवधारणा ल्याइएको छ ।

धादिङ: आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ भन्ने मूल नाराका साथ रिजालले धादिङको विकास र समृद्धिका लागि मार्गचित्र प्रस्तुत गरेका हुन् ।

 

रिजालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, सूचना प्रविधि, कृषि र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

 

राजमार्ग आर्थिक कोरिडोर र एकीकृत विकास
उम्मेदवार रिजालले धुनिबेसी नगरपालिकादेखि बेनिघाट रोराङ गाउँपालिकासम्मको क्षेत्रलाई ‘वातावरण अनुकूल औद्योगिक कोरिडोर’ का रूपमा विकास गर्ने योजना अघि सारेका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत गल्छी र बैरेनीमा ‘स्मार्ट सिटी’ तथा ‘स्याटेलाइट सिटी’ विस्तार कार्यक्रमलाई शीघ्र सम्पन्न गर्ने उनको प्रतिबद्धता छ । साथै, राजमार्गमा हुने दुर्घटनालाई लक्षित गरी गजुरीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ स्थापना गर्ने योजना उनले अघि सारेका छन् ।

 

डिजिटल धादिङ र युवा स्वरोजगार
युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा घरमै बसेर विश्व बजारमा काम गर्न योग्य बनाउन ‘डिजिटल धादिङ’ को अवधारणा ल्याइएको छ । यस अन्तर्गत उच्च गतिको इन्टरनेटसहितको ‘वर्किङ स्पेस’ र ‘आईटी हब’ निर्माण गरिने उल्लेख छ । विद्यालय तहदेखि नै सूचना प्रविधि र व्यावसायिक शिक्षा अनिवार्य गर्ने रिजालको योजना छ ।

 

कृषि र महिला सशक्तीकरण
धादिङको परम्परागत कृषिलाई व्यावसायिक लाभमा बदल्न ‘कोल्ड चेन’ र प्रशोधन केन्द्र निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । किसानका उत्पादनलाई उचित बजार मूल्य दिलाउन सार्वजनिक–निजी–सहकारी मोडेलमा लगानी भित्र्याइने बताइएको छ । महिलाहरूको आर्थिक स्वतन्त्रताका लागि स्थानीय बैंकहरूसँग समन्वय गरी ‘बिउँ पुँजी’ र उद्योग दर्तामा सहुलियत दिने कार्यक्रम रिजालले अघि सारेका छन् ।

 

जवाफदेहिता र नयाँ नेतृत्वको समर्थन
राजनीतिक सुधारका लागि रिजालले आफू निर्वाचित भएपछि कार्यकालको अन्त्यमा ‘प्रोजेक्ट क्लोजर रिपोर्ट’ लिएर जनताको अदालतमा जाने घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापालाई भावी कार्यकारी नेतृत्व (प्रधानमन्त्री) का रूपमा स्थापित गर्न आफ्नो विज्ञता र अनुभव प्रयोग गर्ने समेत बताएका छन् ।

 

नीतिगत सुधार र सुशासन
प्रतिवद्धता पत्रमा योग्यता प्रणाली, भ्रष्टाचारमुक्त समाज, र डिजिटल सुशासनमा जोड दिइएको छ । सिद्धलेक, तामाखानी सम्भाव्यता अध्ययन, महाभारत रेन्जमा पर्यटन विकास र चेपाङ संग्रहालय स्थापना जस्ता स्थानीय आवश्यकतालाई पनि प्राथमिकतामा राखिएको छ ।

 

आफ्नो निर्वाचन क्षेत्रका धुनिबेसी, थाक्रे, गल्छी, गजुरी, सिद्धलेक र बेनिघाट रोराङका जनतासँग मत माग्दै रिजालले यो अभियानलाई राष्ट्रिय गौरवसँग जोड्ने संकल्प व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार