पूर्वराजा ज्ञानेन्द्रको सन्देशलाई राप्रपाको समर्थन, 'नवीन समझदारी'का लागि सर्वपक्षीय सम्मेलनको माग

२०८२ फाल्गुण ०७ विहीवार
सारांश
  • पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी अभियानको क्रममा उपत्यकाबाहिर रहेकाले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सो बैठक बसेको थियो ।

काठमाडौं, ७ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको सन्देशलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको छ ।

 

आइतबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजाको अभिव्यक्तिलाई 'मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब' भएको ठहर गरेको हो ।

 

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी अभियानको क्रममा उपत्यकाबाहिर रहेकाले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सो बैठक बसेको थियो । बैठकमा पूर्व अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापालगायत काठमाडौंमा उपलब्ध पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

बैठकपछि प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनपछि हुन सक्ने द्वन्द्व तथा अशान्तिलाई रोक्न राष्ट्रिय सहमति कायम गर्नुपर्ने राजाको अभिव्यक्ति देश र जनताको हितमा छ ।" राप्रपाले राजाको सो सन्देश आम जनताको चाहनाअनुरूप भएको समेत दाबी गरेको छ ।

 

राप्रपाले मुलुकको वर्तमान संकटपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सबै राजनीतिक विचार र शक्तिहरू अटाउने गरी 'नवीन समझदारी' कायम गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सर्वपक्षीय सम्मेलनको माग राख्दै आएको राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको र अन्य दलहरूसँग पनि संवाद गरिरहेको जानकारी दिएको छ ।

 

विज्ञप्तिमा निर्वाचन अगावै राष्ट्रिय समस्या समाधानका लागि सरकार र अन्य राजनीतिक दलहरूलाई आग्रह गरिएको छ । साथै, राजाको सन्देश र पार्टीको नीति अनुसार 'नवीन समझदारी' का लागि दबाब सिर्जना गर्न र चुनावी अभियानमा उच्च मनोबलका साथ सहभागी हुन राप्रपाले आम जनता र कार्यकर्तालाई आह्वान गरेको छ ।

 

राप्रपाले वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न राजासहितको सबै राजनीतिक शक्तिहरूको प्रतिनिधित्व हुने गरी नयाँ बाटो पहिल्याउनुपर्ने अडान पुनः दोहोर्याएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार