चर्चित निर्वाचन क्षेत्र: नवलपरासी पश्चिम- १ को चुनावी गणित, विनोद चौधरीलाई एमाले र रास्वपाको चुनौती

२०८२ माघ २६ सोमवार
सारांश
  • फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)- १ पनि रहेको छ ।

काठमाण्डौ, २६ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)- १ पनि रहेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता विनोद चौधरी यस पटक पनि उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिकाका सबै वडा, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका सबै वडा र सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएको छ ।

निर्वाचन आयोगका अनुसार  नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)- १ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २३ हजार ८० जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४८ मतदान केन्द्र तोकिएको छ ।

 

पछिल्लो निर्वाचन- २०७९

 

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसबाट विनोद चौधरी विजयी भएका थिए । उनले २९ हजार ५१९ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए । त्यस्तै तेस्रो भएका रास्वपाका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका थिए भने जनमतका गुलाव प्रसाद चौधरीले ५ हजार ९५२ र राप्रपाका भोज राज ढकालले ४ हजार ८२५ मत प्राप्त गरेका थिए ।

 

त्यस्तै, २०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी २३ हजार ५१५ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार १७२ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले १० हजार ७१८, जनमतले ७ हजार ४१४ र राप्रपाले ६ हजार ४७७ मत प्राप्त गरेको थियो ।

 

उम्मेदवार- २०८२    

 

यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर २६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट फेरी एक पटक उम्मेदवार बनेका छन् भने एमालेबाट राम प्रसाद पाण्डेय उम्मेदवार बनेका छन् । त्यसैगरी रास्वपाले काँग्रेसका पुर्व नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाबाट सिन्धु जलेसा बुढाथोकी र राप्रपबाट नवनित कुमार मिश्र उम्मेदवार बनेका छन् । त्यस्तै हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् भने जनमतले यस पटक गणेश बहादुर चौधरीलाई उम्मेदवार बनाएको छ ।

 

निष्कर्ष:

 

यस पटक सबै दल अलग अलग चुनाव लडेकाले पनि अघिल्लो निर्वाचनलाई आधार बनाएर आकलन गर्न सकिदैन । काँग्रेसका विक्रम खनाल अघिल्लो चुनावमा विनोद चौधरीलाई सहयोग नगरेको कारण कारवाहीमा परेका थिए । तर काँग्रेसले कारवाही फिर्ता लिएपनि उनी रास्वपाबाट उम्मेदवार बनेका छन् । त्यस्तै गत निर्वाचनमा एमालेको समर्थनमा उम्मेदवार हृदयेश त्रिपाठी यस पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् । त्यस्तै यस पटक एमालेले आफ्नै उम्मेदवार उठाएको छ । यसरी यस क्षेत्रमा प्रतिष्पर्धाको केन्द्रमा काँग्रेसका विनोद चौधरी छन् भने उनलाई चारै तिरबाट चुनौती दिन खोजिएको छ । गत निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा यस क्षेत्रमा काँग्रेस स्पष्ट रुपमा अगाडी देखिन्छ ।

 

तर यस पटक रास्वपाको देशभर देखिएको लहर र काँग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका विक्रम खनालले कति फाइदा उठाउछन् भन्ने पनि रहेको छ । गत निर्वाचनमा पनि उनले चौधरीलाई असहयोग नै गरेकाले यस पटक पनि उनले चौधरीलाई त्यति ठुलो असर पुर्याउन नसक्ने विश्लेषण स्थानीयको रहेको पाइन्छ । त्यस्तै यस क्षेत्रमा कम जनाधार भएको जसपा नेपालबाट उम्मेदवार बनेका हृदयेश त्रिपाठी भने यस पटक प्रतिष्पर्धामा आउन नसक्ने नै देखिन्छ । यसरी हेर्दा यस क्षेत्रमा यस पटक काँग्रेस, एमाले र रास्वपाको प्रतिष्पर्धा देखिन्छ र यसमा विनोद चौधरी बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार