समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

२०८२ माघ २१ बुधवार
सारांश
  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो।

काठमाडौं: प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्। यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्।

 

समानुपातिकतर्फ कूल ६३ वटा राजनीतिक दल सहभागी भएका छन् भने आयोगले ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ । अन्तिम बन्दसूचीअनुसार समानुपातिक प्रणालीतर्फ कूल तीन हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन्।

 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो।

 

यसअघि आयोगले विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको थियो। आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भइसकेका २५ जना उम्मेदवारको नाम हटाइएको छ।

 

यस्तै, तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका एक जना उम्मेदवारलाई पनि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।

 

यसका साथै, सम्बन्धित राजनीतिक दलको अनुरोधमा १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जानकारी दिएको छ।

 

निर्वाचन आयोगका अनुसार समानुपातिक बन्दसूचीमा महिलाको सङ्ख्या बढी हुनु समावेशी प्रतिनिधित्वको दृष्टिले सकारात्मक मानिएको छ। आयोगले आगामी निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र कानुनअनुसार सम्पन्न गराउन सबै तयारी तीव्र पारेको जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार