प्रचण्डलाई हराउने रणनीतिमा एमाले, जनार्दनसँग सहकार्य

२०८२ माघ १२ सोमवार
सारांश
  • एमाले नेतृत्वले यो सहमतिलाई २०८४ को प्रदेशसभा निर्वाचनसम्मै लैजाने दीर्घकालीन रणनीतिको रूपमा व्याख्या गरेको छ।

प्रतिनिधिसभा निर्वाचनको संघारमा नेकपा एमालेले, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई हराउने रणनिति बनाएको छ।  यसका लागि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी विच चुनावी तालमेल भैरहेको छ।  जनार्दन शर्मा नेतृत्वको प्रलोपा र एमाले विच कर्णाली र लुम्बिनी प्रदेशमा नयाँ र रोचक चुनावी समीकरण तयार भएको छ।  

 

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच १३ जिल्लामा तालमेल गर्ने औपचारिक सहमति भैसकेको छ। सहमति अनुसार रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाउँदै प्रलोपाका उम्मेदवारहरूलाई सघाउने निर्णय गरेको छ। यसअनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनको पक्षमा 'आँखा' चिह्नमा एमालेले मतदान गर्नेछ। यसको बदलामा अन्य ११ जिल्लामा भने प्रलोपाले एमालेका उम्मेदवारहरूलाई पूर्ण समर्थन गर्ने सहमति भएको छ।

 

२०७९ को अघिल्लो निर्वाचनमा माओवादीले कांग्रेससँगको गठबन्धनमा १२,२६२ मत ल्याएर जितेको थियो भने एमाले ५,२११ मतमा सीमित थियो। अहिले एमालेको मत प्रलोपामा थपिँदा प्रतिस्पर्धा कठिन हुने देखिएको छ। विगतमा माओवादीबाट ३९,५४९ मत ल्याएर विजयी भएका जनार्दन शर्मा अहिले प्रलोपाबाट उम्मेदवार छन्। एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटा (जसले विगतमा करिब १३ हजार मत ल्याएका थिए) उनलाई निष्क्रिय बनाएर शर्मालाई नै सघाउने निर्णय गरेको छ।

 

त्यस्तै, कालीकोटमा खड्गबहादुर विश्वकर्मालाई एमालेले सघाउने र बदलामा दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई सहयोग लिने गरी अनौपचारिक 'लेनदेन'को समझदारी समेत बनेको बुझिएको छ। एमाले नेतृत्वले यो सहमतिलाई २०८४ को प्रदेशसभा निर्वाचनसम्मै लैजाने दीर्घकालीन रणनीतिको रूपमा व्याख्या गरेको छ।

 

यो तालमेलले विशेषगरी रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाललाई निकै ठूलो चुनौती थपिएको विश्लेषण गरिएको छ। यसअघिको निर्वाचनमा बलियो पकड रहेको माओवादी क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतम र नन्दराम देवकोटालाई पछि हटाएर नयाँ गठबन्धन बनाएपछि चुनावी प्रतिस्पर्धा पेचिलो बनेको हो।

 

राजनीतिको यो फेरिँदो समीकरणले आगामी निर्वाचनको नतिजामा कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी नै छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार