चर्चित निर्वाचन क्षेत्र: सर्लाही-४ को चुनावी गणित, गगन र अमरेश आमने सामने

२०८२ माघ ०९ शुक्रवार
सारांश
  • सर्लाही ४ सर्लाही जिल्लाका चार मध्येको एक निर्वाचन क्षेत्र हो ।

काठमाडौँ: फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सर्लाहीको ४ नम्बर क्षेत्र बनेको छ । यसको प्रमुख कारण नेपाली काँग्रेसका सभापति गगन थापा उम्मेदवार बनेका कारण यो क्षेत्रमा सबैको नजर रहेको छ ।
 

सर्लाही ४ सर्लाही जिल्लाका चार मध्येको एक निर्वाचन क्षेत्र हो । सलाही ४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर १३ देखि १५ सम्म, विष्णु गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म र बासबरिया गाउँपालिकाको वडा नम्बर १ देखि ३ सम्म रहेका छन् ।


सर्लाही- ४ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २१  हजार १२ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १५४ मतदान केन्द्र तोकिएको छ ।
 

पछिल्लो निर्वाचन

२०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्दै डा. अमरेश कुमार सिंहले चुनाव जितेका थिए । सिंहले २० हजार १७ मत प्राप्त गरेका थिए । त्यस्तै काँग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । त्यस्तै जसपा नेपालका राकेस कुमार मिश्रले ५ हजार ८१३ र बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले ५ हजार १५८ मत प्राप्त गरेका थिए । त्यसैगरी जनमत पार्टीका राम बाबु रायले ३ हजार ४२९ मत प्राप्त गरेका थिए ।
 

त्यसैगरी यस क्षेत्रमा २०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले १६ हजार २९ मत प्राप्त गरेको थियो भने जनमत पार्टीले १२ हजार ५९५ मत प्राप्त गरेका थिए । त्यस्तै तत्कालिन माओवादी केन्द्रको ९ हजार ७९० मत प्राप्त गरेका थिए भने एमलेले ९ हजार ४७१ मत पाएको थियो । त्यस्तै बहुजन एकता पार्टी नेपालले ५ हजार ४४४ मत प्राप्त गरेको थियो भने जसपा नेपालले ५ हजार १५२ र लोस्पाले ३ हजार ६७३ मर प्राप्त गरेको थियो । यस क्षेत्रमा रास्वपाले ११ सय ९९ मत प्राप्त गरेको थियो ।   
 

उम्मेदवार: 

यस निर्वाचन क्षेत्रमा यस पटक नेपाली काँग्रेसका सभापति गगन थापा उम्मेदवार बनेका छन् । त्यस्तै यसअघि स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका अमरेश कुमार सिंह भने यस पटक रास्वपाबाट उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा नेकपा एमालेबाट रविशंकर कुसवाह उम्मेदवार बनेका बहने राप्रपाबाट प्रदीप झा उम्मेदवर बनेका छन् ।

 

निष्कर्ष:

गगन थापाले यस क्षेत्रमा उम्मेदवारी दिएपछि यो यस चुनावको सबैभन्दा चर्चित क्षेत्र मध्ये एक बनेको छ । नेपाली काँग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका थापाले उम्मेदवारी दिएपछि यस अघि जितेका डा. अमरेश कुमार सिंह डिफेन्सिभ बनेका छन् । काँग्रेसकै पुर्व नेता समेत रहेका सिंहका विवादित अभिव्यक्ति र आफ्नो विचारमा अडिक नभएका कारण आलोचित र चर्चाको केन्द्रमा रहने गर्दछन् ।  यस पटकपनि उनले जनकपुरमा बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने र त्यसको केहिदिन पछि गगन थापाले चुनाव जितेमा आत्मदाह गर्ने बताएर आफ्नो अस्थीर छबी फेरी प्रकट गरेका छन् । अर्कोतर्फ गगन थापाले भने अहिलेसम्म पार्टीकै विवाद मिलाउन व्यस्त छन् र छिट्टै सर्लाही जाने तयारीमा रहेका छन् ।  

 

अहिले नै चुनावको नतिजा अनुमान गर्न नसकिने भएपनि गगनले सर्लाही- ४ बाट उम्मेदवारी दिएर सिंगो मधेसमा काँग्रेसको प्रभाव बढाउन खोजेको बुझ्न सकिन्छ । यस क्षेत्रमा एमाले, नेकपा, जसपा नेपालका उम्मेदवारले कति मत पाउछन भन्नेले पनि नतिजालाई प्रभाव पर्न सक्छ । अघिल्लो निर्वाचनमाको मत परिणाम र अहिलेको राजनीतिक अवस्थाको सिधै तुलना नै गर्न नमिल्ने अवस्था रहेको छ । वारेस मार्फत उम्मेदवारी दर्ता गरेका गगनले सर्लाही गएर आफुलाई कसरी प्रस्तुत गर्छन् र त्यसलाई सर्लाही-४ का मतदाताले कसरी लिन्छन् त्यो हेर्न बाँकी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार