‘अब कांग्रेसमा गुटबन्दी र अप्राकृतिक गठबन्धनको अन्त्य’: सभापति गगन थापा

२०८२ माघ ०२ शुक्रवार
सारांश
  • कांग्रेसले आफ्नो मूल्य र मान्यतामा सम्झौता नगर्ने र संविधानको रक्षा गर्दै समुन्नत नेपालको नेतृत्व आफैंले गर्ने उनको जिकिर छ।

काठमाडौं, माघ २: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुटगत राजनीति र सत्ताका लागि गरिने अप्राकृतिक गठबन्धनको युग समाप्त भएको घोषणा गरेका छन्। विशेष महाधिवेशनपछि एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति थापाले कांग्रेस अब विधि, विधान र पद्धतिमा आधारित भएर नयाँ ढङ्गले अगाडि बढ्ने बताएका हुन्।

 

विज्ञप्ति मार्फत सभापति थापाले आजैका मितिदेखि पार्टीमा कुनै पनि गुट र भागबण्डा नहुने स्पष्ट पारेका छन्। "जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ," विज्ञप्तिमा भनिएको छ, "तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।"

 

थापाले सत्ताका लागि सिद्धान्त विपरीत गरिने अप्राकृतिक राजनीतिक गठबन्धनको कडा आलोचना गर्दै अब त्यस्तो अभ्यासको अन्त्य हुने बताएका छन्। कांग्रेसले आफ्नो मूल्य र मान्यतामा सम्झौता नगर्ने र संविधानको रक्षा गर्दै समुन्नत नेपालको नेतृत्व आफैंले गर्ने उनको जिकिर छ।

 

पार्टीभित्रको विशेष महाधिवेशनले विगतका कमजोरीको समीक्षा र आत्मलोचना गरेको उल्लेख गर्दै उनले अब कांग्रेस 'नवीन ऊर्जा' सहित रूपान्तरणको दिशामा अगाडि बढेको बताएका छन्। पूर्व सभापति शेरबहादुर देउवा लगायतका सबै नेता र निकायहरूबाट यो नयाँ प्रक्रियालाई पूर्ण साथ रहने विश्वास समेत उनले व्यक्त गरेका छन्।

 

सभापति थापाले सम्पूर्ण कार्यकर्तालाई उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भई लाग्न निर्देशन दिएका छन्। "रिफर्मको यात्रा सुरु भइसकेको छ, कांग्रेस अब आफ्नो मूल जरा र आदर्शमा फर्किएको छ," विज्ञप्तिमा उल्लेख छ।

 

कांग्रेसलाई आम मानिसको 'सार्वजनिक पुँजी'को रूपमा व्याख्या गर्दै थापाले देश र विदेशमा रहेका लाखौं शुभेच्छुक र विशेषगरी नव युवाको आकांक्षा अनुरूप पार्टीलाई जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन आम नेपालीमा अपील समेत गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार