विशेष महाधिवेशन शक्ति वा सत्ताको संघर्ष होइन, सोचको लडाइँ हो : गगन थापा
२०८२ पुष २७ गते आइतवार
- महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र कांग्रेस सबैको साझा घर भएको बताएका छन्।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले अधिवेशनभन्दा ठूलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको संघर्ष नभई देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने भन्ने सोचको भिन्नताबाट उत्पन्न अवस्था भएको बताए । उनले अधिवेशनमा सहभागी नहुने सभापति पनि कांग्रेसकै सदस्य भएको र भुइँमा बसेर सहभागी हुने सदस्य पनि कांग्रेसकै सदस्य भएको उल्लेख गर्दै पदका आधारमा कोही ठूलो–सानो नहुने स्पष्ट पारे ।
उनले भने, ‘हामीले एक ठाउँमा आउनुपर्छ, समीक्षा गर्नुपर्छ । त्यसको निम्ती अधिवेशन भन्दा अर्को मञ्च हाम्रो लागि सानो हुन्छ । यो शक्तिको, सत्ताको संघर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने जनभावनाको कदर गर्ने की नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा कोही यहाँ भयौं कोही हामी यहाँ हुन सकेनौं । यहाँ नआएका सभापति पनि कांग्रेसको सदस्य हो भने भूईंमा तल बस्ने पनि कांग्रेसको सदस्य हो । दुईवटै बराबर हो । यहाँ कोही ठूलो कोही सानो छैन । पद र जिम्मेवारी मात्रै भिन्न हो, सबै बराबार हुन् । कांग्रेस भनेको पनि त्यही हो । कांग्रेस सबैको साझा घर हो । यहाँ कोही सदस्य कसैका दास होइनन् । सबैको हक छ । पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो । आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरुलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ ।’
महामन्त्री थापाले पार्टी सञ्चालनको लामो समयदेखि जाम भएर बसेको पुरानो शैली अब भत्किएको दाबी गरे । उनले तल बस्ने सदस्यलाई माथि बस्नेले सम्मान गर्नुपर्ने संस्कार स्थापित हुनुपर्ने धारणा पनि राखे । त्यसैगरी, उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि पार्टी सदस्यहरूले पनि नेतृत्वलाई सचेत गराएको उल्लेख गरे । पार्टी सञ्चालनको हालको तरिका ठीक नभएको भन्दै सरकारमा जानका लागि जे पनि गर्ने र सरकारबाट बाहिरिँदा सबै सकिएको जस्तो व्यवहार गर्ने प्रवृत्तिको आलोचना गरे ।
यो विशेष महाधिवेशन सदस्यहरूको मागबाट भएको उल्लेख गर्दै महामन्त्री थापाले नीति र नेतृत्व दुवै बदल्नुपर्ने माग उठेको बताए । महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा आफूलाई पनि थाहा नभएको भन्दै उनले हाउसले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने स्पष्ट पारे । उनले कांग्रेस दास र लासहरूको पार्टी नभइ कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताए ।
उनले भने, ‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछाडि पार्टीका सदस्यहरुले पनि भने तपाईंहरु सुध्रिनुपर्छ अब । पार्टी जसरी चलेको छ, ठिकठाक चलेको छैन । सरकारमा जानका लागि जे पनि गर्ने, सरकारबाट बाहिर बस्नुपर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने हामीले गर्दै आयौं । यो विशेष महाधिवेशनको एजेण्डा यो यो छ त्यसैले सम्भवतः यहाँ गएर टुंगिन्छ भन्न सकिन्थ्यो होला । यो त सदस्यहरुले मागेर भएको महाधिवेशन हो । तपाईंहरुले माग्दै गर्दा के माग्नु भएको छ नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनकी म पनि तपाईंहरुले बोलाएर आएको पाहुना हो । तपाईंहरुले आयोजना गर्नुभएको छ । भोलि अधिवेशनको हाउस बस्छ, हाउसले डिसाइड गर्छ । जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ । कांग्रेस दास र लासहरुको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरुको पार्टी हो । कांग्रेसमा प्रश्न मरेको छैन, यहाँ हामी सबै बराबर छ हामी सबै बराबर छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।