यो सरकारको मुख्य काम फागुन २१ को चुनाव हो : मन्त्री घिसिङ

२०८२ पुष १३ आइतवार
सारांश
  • महोत्सव फेवाताल किनारको साढे ३ किलोमिटर सडकमा सञ्चालन हुनेछ।

पोखरा: पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।

 

अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइडमा आयोजना गरिएको महोत्सवको उद्घाटन उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताए ।

 

उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न नसकेपनि जनतालाई आशा दिन सक्ने हिसाबले कार्यान्वयनमा विशेष जोड दिएर अगाडी बढेका छौं, पोलिसि र नीतिगत रुपमा गर्नुपर्ने कामलाई ध्यान दिएका छाैँ , यो सरकारको मुख्य काम भनेको चुनावै हो, फागुन २१ गते चुनाव गर्ने काम मुख्य काम हो, फागुन २१ को चुनावलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ फागुन २१ मा चुनाव हुनुपर्छ ।’

 

मन्त्री घिसिङले फागुन २१ मा चुनाव नभए देश अस्थिरतामा धकेलिने बताउँदै अबको चुनावमा सही व्यक्ति चुन्न समेत आग्रह गरे । ‘यो चुनावले देशलाई स्थायित्वतर्फ लैजानेछ, यदि चुनाव भएन अस्थिरतामा जानेछ, त्यसैले हामी चुनावमा जानुपर्छ, चुनाव पछिको सरकार कस्तो आउने भन्ने चाहिँ महत्वपूर्ण हो, उनले भने, ‘आम जनसमुदायले चुनावबाट देशको नेतृत्व सही व्यक्तिले गर्ने गरी चुन्नुपर्छ, चुनिनुपर्छ, त्यसैले चुनाव अहिलेको अभियान महाअभियान हो, एउटा परिवर्तनको संघारमा हामी छौं, यो परिवर्तनको संघारमा चुनावलाई प्राथमिकता दिएर संसदमा सही व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी तपाईहरुले चुन्नुहोला भन्ने म विशेष आग्रह गर्दछु ।’

 

महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल र कोरोला नाकालाई पूर्ण रुपमा सञ्चालन गर्न सके पोखराको पर्यटन क्षेत्रमा अझै फाइदा पुग्ने भएकाले अबको निर्वाचनपछि बन्ने सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिए । आजदेखि सुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक बसन्त गौतमले बताए । महोत्सव फेवाताल किनारको साढे ३ किलोमिटर सडकमा सञ्चालन हुनेछ।


महोत्सवको अवसरमा लाइभ कन्सर्ट, सांस्कृतिक कार्यक्रम तथा खेलकुदका कार्यक्रमहरु समेत आयोजना गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार