पारदर्शितामा चुक्यो सुशिला सरकार, सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण
२०८२ कार्तिक २७ विहिवार
- सरकार गठनको दुई महिना बितिसक्दा पनि सुशिला कार्कीसहित उनको मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् ।
काठमाण्डौ, २७ कार्त्तिक । सरकार गठनको दुई महिना बितिसक्दा पनि सुशिला कार्कीसहित उनको मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले दुई महिनासम्म पनि सम्पत्ति विवरण सार्बजनिक नगरेर यसअघिका सरकारहरुकै कामलाई निरन्तरता दिएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा र शिक्षामन्त्री महावीर पुनले सम्पत्ति विवरण बुझाएको उल्लेख छ । त्यस्तै उर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल, स्वास्थ्यमन्त्री सुधा गौतम र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण अहिलेसम्म नबुझाएको उल्लेख छ ।
कार्की प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पुगेको छ । भदौ २७ गते कार्कीले पद तथा गोपनियताको शपथ लिएकी थिइन् ।
भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ । ऐनबमोजिम अहिले प्रधानमन्त्रीसहित केहि मन्त्रीले सम्पत्ति विवरण पेस गरिसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट देखिन्छ तर, हालसम्म सार्वजनिक भने गरिएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था गरेपनि सरकारमा संलग्न उच्चपदस्थ जिम्मेवार राजनीतिक नेतृत्वको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने माग र बहस लामो समयदेखि हुँदै आएको छ । बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास छ । अझ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा बनेको यो सरकारको जवाफदेहिता र पारदर्शिता अन्य सरकारभन्दा बढी हुनुपर्ने स्वाभाविक रुपमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’