आगामी दिनमा हुने प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको- राष्ट्रिय मानव अधिकार आयोग

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ ।

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 

आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ । त्यस्तै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित रहेको बताएको छ । 

आयोगको विज्ञप्ति:
 

नागरिक अधिकारको सम्मान गर, संयमित रहन सबै पक्षलाई आग्रह:
 

मुलुकमा विकसित राजनीतिक घटनाक्रमपश्चात विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
 

शान्तिपूर्ण रुपमा भेला हुने, प्रदर्शन गर्ने, सभासम्मेलन गर्ने तथा आफ्ना मागहरु राख्ने नागरिकको मौलिक हक र मानव अधिकारको विषय हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपालको संविधानको धारा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको व्यवस्था छ । नेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा समेत प्रत्येक व्यक्तिलाई बिना हस्तक्षेप विचारहरु राख्न पाउने अधिकारको उल्लेख गरिएको छ । नागरिकका यस प्रकारका अधिकारहरुको सम्मान गर्ने र सो अधिकारको उपभोगको सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको हुन्छ । गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक छ । 
 

विगतका केही अभ्यासहरु हेर्दा प्रदर्शनहरु ध्वंशात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नु पर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । समस्याको समाधान वार्ता र संवादबाट मात्र संभव हुन्छ भन्नेमा आयोग दृढ छ । हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानून र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रुपमा खोजिनु पर्दछ ।
 

अतः नागरिकले राखेका मागहरु समयमै उचित संबोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न तथा नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवम् मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आह्वान गर्दछ । साथै, आफ्ना मागहरु शान्तिपूर्ण रुपमा राख्न आयोग प्रदर्शनरत पक्षलाई समेत आह्वान गर्दछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार