विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री
२०८२ भाद्र १६ सोमवार
- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गरेका थिए ।
काठमाडौँ, १६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गरेका थिए । सो सन्दर्भमा, चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई)ले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर साझा भविष्यका लागि समुदायका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवीनतामा असाधारण प्रगतिको युगमा बाँचिरहेका भएपनि बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु आपतकाल र सीमाविहीन द्वन्द्वहरूका गहिरो विभाजनले प्रगति ओझेलमा परेको उल्लेख गरे ।
“यस्तो संसारमा कुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन । कुनै पनि जनता खण्डित अवस्थामा समृद्ध हुन सक्दैनन् । यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो,” प्रधानमन्त्री ओलीले भने, “तैपनि हामीले एउटा कठोर सत्यको सामना गर्नुपर्छ । नियममा आधारित व्यवस्थालाई चुनौती दिइएको छ । शान्ति र न्याय अझै पनि टाढा छन् । यसरी, बहुपक्षीयता सङ्कटमा छ । यो सङ्कट बाह्य मात्र होइन । यो प्रवाह गर्न नसक्ने असफलताबाट पनि उत्पन्न भएको हो ।”
बहुपक्षीय मञ्चले धेरै वाचा गर्ने गरिएपनि थोरै मात्र प्रवाह हुने गरेको उल्लेख गर्दै उनले प्रगति विनाका वाचाले विश्वास घटाउने बताए। साङ्घाइ सहयोग सङ्गठनले सार्वभौम समानतामा आधारित पुनरुत्थानशील बहुपक्षीयताको भावनालाई पूरक बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्गठन अझ एकताबद्ध, एकीकृत र भूराजनीतिक, आर्थिक र पारिस्थितिक सङ्कटको सामना गर्न अझ लचिलो हुनुपर्ने आवश्यकता औँल्याए ।
प्रधानमन्त्री ओलीले क्षेत्रीय सुरक्षाको सम्बोधन नगरी शान्तिको कुरा गर्न नसकिने बताउँदै चुनौतीहरूले हरेक दिन सीमा पार गरेको उल्लेख गरे। “आतङ्कवादले समाजबाट सुरक्षा र अवसर खोस्छन् । जलवायु परिवर्तनले जोखिमलाई बढाउँछन् । हिमाली मुलुक नेपालले यसको सामना सिधै महसुस गर्छ,” उनले भने, “बढ्दो तापमानका कारण विश्वव्यापी जलवायुको स्थिरताका प्रतिक हिमालले हिउँको भण्डार गुमाउँदैछन्, जसले तल्लो तटीय क्षेत्रमा बस्ने अर्बौँ मानिसको जीवनलाई खतरामा पारेको छ ।”
उनले साइबर हमला, महामारी, पारिस्थितिक सङ्कटजस्ता उदीयमान खतरा सीमित नभएको उल्लेख गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्न केवल पाँच वर्ष बाँकी रहँदा लक्ष्य हासिल गर्ने दिशामा पछाडि परेको बताए।
यस कठिन समयमा, क्षेत्रीय सहयोग साझा चुनौतीहरू आर्थिक, प्राविधिक, पारिस्थितिक सामना गर्ने एउटा उपकरण भएको बताउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता अटल रहेको र साङ्घाई सहयोग सङ्गठनका सदस्यसँगको सम्बन्ध बलियो रहेको उल्लेख गरे ।
उनले आगामी दिनमा एक्लोपनाबाट सम्पर्क सञ्जालतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यको आवश्यकता औँल्याए । यसका लागि भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जन–जनबिचको सम्पर्क बढाएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धि प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी साङ्घाई भावनालाई अँगालेर गहिरो समझदारी बढाउन संवाद र कूटनीतिलाई तीव्रता दिनुपर्ने तथा विश्वलाई विभाजन होइन, थप साझेदारी चाहिएको उहाँले उल्लेख गरे। क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर तथा काम गरेर न्यायपूर्ण, समावेशी र लचिलो व्यवस्था निर्माण गर्न एवं दिगो विकास हासिल गर्न सकिनेमा उहाँको जोड थियो ।
यस्तो विश्वव्यापी समन्वयले कुनै पनि राष्ट्र पछाडि नछुट्ने उल्लेख गर्दे प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग सङ्गठनभित्र क्षेत्रीय सहयोग बढाउने आफ्नो प्रतिबद्धता रहेको दोहोर्याए । उनले दिगो भविष्यका लागि नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीको समर्थन गर्ने उल्लेख गर्दै साङ्घाई भावनालाई कायम राख्न, मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई सुदृढ गर्न आग्रह गरे।
उनले बैठकको सफलताका साथै साङ्घाई सहयोग सङ्गठनका सबै सदस्य राष्ट्रको निरन्तर प्रगति र समृद्धिका लागि नेपाली जनताको तर्फबाट शुभकामना व्यक्त गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।