आफूलाई मूलधार ठान्नेहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड
११ भाद्र, २०८२, बुधवार
- उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’
उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्,’ उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’
प्रचण्डले देशभरका पालिकाहरूमा भएका संघर्ष, बलिदान र ऐतिहासिक घटनाहरूलाई दस्तावेजीकृत गर्न आग्रह गरे । ‘सिरानचोकजस्तै हरेक वडाका आफ्नै बेथा छन्, आफ्ना मर्म छन्,’ उनले भने, ‘यी मर्म र गाथालाई केन्द्रित गरेर संकलन गरियो भने ठूलो ऐतिहासिक सामग्री बन्न सक्छ ।’
उनले पार्टी, विचारधारा वा संगठनभन्दा माथि उठेर देशको परिवर्तनका प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न लेखक, साहित्यकार, राजनीतिकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।