डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी

२०८२ श्रावण ११ आईतवार
सारांश
  • शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीले आयोजना गरेको एसईई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले नेपालमा ठूलो संख्यामा युवाहरू डिजिटल माध्यमबाट घरमै बसेर विदेशी कम्पनीहरूसँग काम गरिरहेको उल्लेख गरे ।

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले नेपालमा डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै विदेशबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ भित्रिने गरेको बताएका छन् ।

 

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीले आयोजना गरेको एसईई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले नेपालमा ठूलो संख्यामा युवाहरू डिजिटल माध्यमबाट घरमै बसेर विदेशी कम्पनीहरूसँग काम गरिरहेको उल्लेख गरे ।

 

उनले भने, ‘मैले तपाईंहरूलाई भन्छु, अहिले काठमाडौँमा ८० देखि १ लाख मान्छे, त्यस्ता छन् युवाहरू, जसले कुनै जागिर खाँदैनन्, तर महिनाको अढाई लाख, तीन लाखदेखि ५०–६० हजार घरै बसीबसी कमाउँछन् । त्यो भनेको के हो भन्दाखेरि, विदेशका विभिन्न कम्पनीबाट, कम्पनीसँग काम लिएर यहाँ आफ्नो ल्यापटपमा काम गरेर उहाँ पठाएर उहाँबाट विदेशी पैसा ल्याउँछन् ।’

 

शिक्षामन्त्री पन्तले युवाहरूले विदेशी कम्पनीहरूसँग अनलाइनमार्फत काम गरेर नेपालमा विदेशी मुद्रा भित्राइरहेको बताए । ‘अहिले डिजिटल कामबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ नेपालमा भित्रिरहेको छ,’ उनले भने, ‘यदि यो क्षेत्रलाई उचित रूपमा विकास गर्न सकियो भने, यो कमाइ ८–१० खर्ब रुपैयाँसम्म पु¥याउन सकिने सम्भावना छ ।’

 

उनले डिजिटल अर्थतन्त्रलाई भविष्यको सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रण गर्दै युवाहरूलाई यसतर्फ आकर्षित हुन समेत आग्रह गरे ।

कार्यक्रममा मन्त्री पन्तले प्रविधि, शिक्षा र सीपमूलक तालिमको अभावका कारण थुप्रै नेपाली युवाहरू विदेशिनु परेको उल्लेख गर्दै, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

 

हामीले अघिल्लो समाचारमा शिक्षामन्त्री रघुजी पन्तले ‘८० प्रतिशत युवाहरूले जागिर बिना महिनाको दुई लाख रुपैयाँ कमाइरहेका छन्’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गरेका थियौं । तर सो अभिव्यक्ति समाचारमा त्रुटिपूर्ण हुन गएकोमा क्षमापार्थी छौं ।

 

वास्तविकतामा मन्त्री पन्तले ‘काठमाडौंमा ८० हजारदेखि १ लाख युवाहरू यस्ता छन्, जसले विदेशका विभिन्न कम्पनीबाट, कम्पनीसँग काम लिएर महिनाको अढाई लाख, तीन लाखदेखि ५०–६० हजार रुपैयाँसम्म घरमै बसेर कमाइरहेका छन्’ भन्ने उल्लेख गरेका थिए ।

 

उक्त तथ्यांकलाई गलत ढंगले प्रतिशतमा रूपान्तरण गरी प्रसारण भएकोमा हामी गम्भीर ध्यानाकर्षण गराउँछौं र सो त्रुटिप्रति क्षमायाचना गर्दै समाचार सुधार गरेका छौं ।

 

यस्ता संवेदनशील विषयमा तथ्यपरक र जिम्मेवार पत्रकारिता अभ्यास गर्नु हाम्रो कर्तव्य हो भन्ने कुरा हामी आत्मसात् गर्छौं र भविष्यमा यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता व्यक्त गर्छौं ।

 

– समाचार श्रोत: नेपाल न्यूज बैंक

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार