निषेधको राजनीतिले प्रजातन्त्र बलियो हुँदैन: पुर्व राजा ज्ञानेन्द्र शाह

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने पूर्वराजा शाहले बताएका छन्।

काठमाडौँ: प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा आज सांझ एक भिडियो मार्फत पूर्वराजा ज्ञानेद्र शाहले देशवासीका नाममा संदेश जारी गरेका छन्।  


भिडियो सन्देशमा पूर्वराजा ज्ञानेद्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान समेत गरेका छन्।

 

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई साथ दिन आह्वान गर्दछौँ।’

 

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन्।

 

‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो। यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ। त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो। हाम्रो त्यागको अर्थ आशय पनि त्यही नै हो,’ उनको भनाइ छ।

 

आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने पूर्वराजा शाहले बताएका छन्।

 

उनी भन्छन्, ‘हाम्रो इतिहासलाई नास गरेर, पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ। विगतका कमी कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्।’

अहिले देशको इतिहास मेटिँदै गएको र नेपालका होनहार जनशक्ति देशबाट बाहिरिँदै गएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेका छन्।

 

‘आज देशको इतिहास मेटिँदै गएको छ। नेपालको अस्तित्व नासिँदै गएको छ। नेपालका होनहार जनशत्ति ताँती लागेर देशबाट बाहिरिँदै गएका छन्,’ उनले भनेका छन्, ‘नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ। जन्मदै नेपालीको शीरमा हजारौँ हजार होइन, लाखको ऋणभारको बोझ छ। हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धराशायी हुँदै छ। हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन्।’

 

उनी अगाडि थप्छन्, ‘नेपालको पद्धति, नीति र गतिविधि पनि ठीक छैन, यहाँ बसेर केही हुँदैन भन्नेखालको श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलिरहेको छ। यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन। प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ। तर तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन।’

 

निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने पूर्वराजा शाहको भनाइ छ।

 

उनी भन्छन्, ‘सुन्दर शब्द र आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन। कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवा भाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ, सबैको पहिचान हुनुपर्दछ। सबैको अस्तित्व सुरक्षित हुनुपर्दछ। निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन। पक्ष विपक्षको अहंकार, आ–आफ्नो खालको स्वार्थ तथा राष्ट्रवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन।’

 

व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुखद कुरा भएको पूर्वराजा शाहको भनाइ छ।

 

‘आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुखद् कुरा हो,’ उनी भन्छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार