प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू छलफलसहित स्वीकृत गरिएका हुन् ।

काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

 

प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू छलफलसहित स्वीकृत गरिएका हुन् । प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चार सय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरूयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ ।

 

बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी/जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुनेगरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णय गरेको छ ।

 

यस्तै बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउन, कार्यकारी परिषद् सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।

 

प्रतिष्ठानको आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को बजेट तथा कार्यक्रम तततत समयमा सिनेट बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गरे । उनले नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिए ।

 

बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवलगायत सहमागी थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार