भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स

२४ भाद्र, २०८३, बुधवार
सारांश
  • भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

काठमाडौँ: अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा भएको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताएका छन् ।

 

भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

 

उनका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ। साँघुरा गल्छी, भत्किएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भूगोलका कारण उद्धार निकै कठिन बनेको उनले बताए । भारी उपकरण घटनास्थलसम्म पुर्‍याउन नसकिएकाले सडक निर्माण तथा वैकल्पिक पहुँचको व्यवस्था भइरहेको उनको भनाइ थियो ।

 

सतहमा ठूलो क्षति देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित व्यक्ति नरहेको निष्कर्षमा पुग्न नहुने डिक्सले बताएका छन् । जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

 

डिक्सले हालको घटनाका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने बताएका छन् । उनका अनुसार यस्तो प्रकृतिको विपत्ति यसअघि विश्वमै नदेखिएकाले विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्याङ्कनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन ।

 

उनले उद्धारमा नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले कठिन परिस्थितिका बाबजुद गरिरहेको प्रयासको प्रशंसा गर्दै पीडित नेपालीहरूलाई आफूहरू एक्लो नरहेको सन्देश दिएका छन् । भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति घटाउन आयोजनाको डिजाइन चरणदेखि नै उद्धार तथा सुरक्षा प्रणालीलाई समेट्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार