आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

२०८३ श्रावण १२ मङ्गलवार
सारांश
  • आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै यस आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

काठमाण्डौ, १२ श्रावण । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

 

संघले श्रावण ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ । संघले उक्त घटनालाई अत्यन्तै गम्भीर भन्दै घोर भर्त्सना गरेको जनाएको छ ।

 

टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ ।

 

यस्तै, चिकित्सकको मानमर्दन गर्ने कार्यमा संलग्न रहेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ । 

 

राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै त्यसको विरोधस्वरूप संघले आज मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

 

संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ । आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै यस आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

 

विज्ञप्तिमा बिरामीले भोग्नुपर्ने असुविधाको जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने पनि उल्लेख गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार