सरकार र डा. गोविन्द केसीबीच सहमति, सत्याग्रह अन्त्य

२०८३ श्रावण १२ मङ्गलवार
सारांश
  • सोमवार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि विभिन्न विषयमा सहमति जुटेसँगै उनको सत्याग्रह अन्त्य भएको हो ।

काठमाण्डौ, १२ श्रावण । चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सोमवार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि विभिन्न विषयमा सहमति जुटेसँगै उनको सत्याग्रह अन्त्य भएको हो ।

 

सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शैयाको शिक्षण अस्पतालसहित सञ्चालनमा ल्याइनेछ । चालु आर्थिक वर्षदेखि नै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

 

त्यस्तै, विश्वविद्यालयसम्बन्धी कानुन संशोधनका क्रममा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटिने भएको छ । पदाधिकारीहरूको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न चालु संसद् अधिवेशनमै तीन महिनाभित्र संशोधन प्रस्ताव पेश गरिने सहमतिमा उल्लेख छ ।

 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार चिकित्सा शिक्षाको सिट निर्धारण गरिने तथा निजी शिक्षण संस्थामा सिट वृद्धि नगरी सार्वजनिक शिक्षण संस्थाको सिट विस्तारमा अवरोध नपर्ने व्यवस्था गरिने भएको छ । साथै, चिकित्सासम्बन्धी शिक्षण संस्थालाई गैरनाफामूलक तथा सेवामूलक प्रणालीमा रूपान्तरण गर्ने विषयमा सुझाव दिन छ महिनाभित्र उच्चस्तरीय कार्यदल गठन गरिने सहमति भएको छ ।

 

यसैगरी, विगतमा भएका जघन्य हत्या, आगजनी तथा लुटपाटका घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ व्यक्तिहरूबाट भएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गर्ने विषयमा पनि सरकार र डा. केसीबीच सहमति भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार