- प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
काठमाण्डौ, ११ श्रावण । लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको तथा केही सडकमा रातिको समयमा मात्र सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ ।
त्यस्तै, मकवानपुरको कान्तिलोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैबीच, विभिन्न जिल्लामा पहिरो र नदी कटानका कारण प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार इलामको मेची राजमार्गमा इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गमा भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
रसुवाको पासाङ ल्हामु सडकखण्डमा उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ ।
मुगुको नाग्म–गमगडी सडकखण्डमा छायाँनाथ रारा नगरपालिका–७ झ्यारी खोलानजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । रोल्पाको शहीद राजमार्गअन्तर्गत परिवर्तन गाउँपालिका–१ खोलावाङ क्षेत्रमा सुख्खा पहिरो खस्दा यातायात ठप्प भएको छ ।
पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा लेदो, माटो र ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा रघुगंगा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन ।
यसैगरी काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्दीबेँसी र वडा नम्बर ९ पिन्थली क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको कान्तिलोकपथमा बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । त्यस्तै लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्डमा मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर क्षेत्रमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यकबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।