- समूह चरणमा अस्ट्रेलियाले जम्मा २६ प्रहार मात्र गरेको थियो, जुन समूहका शीर्ष दुई टोलीमध्ये क्रोएसियापछि सबैभन्दा कम हो । पछिल्ला दुई खेलमा उसले गोल गर्न सकेन र सिर्जना गरेका अवसर पनि निकै सीमित थिए ।
काठमाडौँ: फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा बिहीबार डलास रंगशालामा इजिप्ट र अस्ट्रेलिया आमने सामने हुँदैछन् । डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ११: ४५ बजेदेखि शुरु हुदैछ ।
दुवै टोली अन्तिम १६ मा स्थान बनाउन मैदान उत्रिने तयारीमा छन् । इजिप्टका कप्तान मोहम्मद सलाह चोटका कारण खेल्ने वा नखेल्ने अन्योलमा छन् । इरानसँग १-१ को बराबरीमा सकिएको समूह चरणको अन्तिम खेलमा उनी दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । टोलीका चिकित्सक मोहम्मद अबु अल इलाले सलाहको तिघ्राको पछाडिको मांसपेशीमा समस्या देखिएको पुष्टि गरेका छन् ।
सलाहले टोलीसँग नियमित प्रशिक्षण नगरी पुनःस्थापनामै समय बिताएका थिए । उनी अस्ट्रेलियाविरुद्ध खेल्न फिट हुने प्रयासमा छन् । समूह चरणमा उनले आफ्ना सहकर्मीका लागि ११ गोलका अवसर सिर्जना गरेका थिए, जुन प्रतियोगितामा बेल्जियमका लिआन्ड्रो ट्रोसार्डपछि दोस्रो धेरै हो ।
सलाहले न्युजिल्यान्डविरुद्ध ३-१ को जितमा गोल पनि गरेका थिए । तर इरानसँग बराबरी र बेल्जियमले न्युजिल्यान्डलाई ५-१ ले हराएपछि इजिप्ट गोलअन्तरका आधारमा समूह ‘जी’को उपविजेता बनेको थियो । यद्यपि इजिप्टले समूह चरणका तीनै खेलमा हार भने बेहोरेन । विश्वकप इतिहासमै पहिलो पटक लगातार तीन खेल अपराजित रहने उपलब्धि बनाएको टोलीले यसपटक पाँच गोल गरेको छ, जुन यसअघिका सात विश्वकप खेलमा गरेको कुल गोल बराबर हो ।
तर अस्ट्रेलियाको बलियो रक्षापंक्तिविरुद्ध इजिप्टलाई गोल गर्न सहज हुने अपेक्षा गरिएको छैन । समूह चरणमा अस्ट्रेलियाले विपक्षीलाई स्पष्ट अवसर निकै कम दिएको थियो । उनीहरूको रक्षात्मक प्रदर्शन प्रतियोगिताकै उत्कृष्टमध्ये एक मानिएको छ ।
अस्ट्रेलियाले समूह ‘डी’मा दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको हो । सुरुआती खेलमा टर्कीलाई २-० ले हराएको टोली त्यसपछि अमेरिकासँग २-० ले पराजित भयो भने पाराग्वेसँग गोलरहित बराबरीमा रोकियो ।
समूह चरणमा अस्ट्रेलियाले जम्मा २६ प्रहार मात्र गरेको थियो, जुन समूहका शीर्ष दुई टोलीमध्ये क्रोएसियापछि सबैभन्दा कम हो । पछिल्ला दुई खेलमा उसले गोल गर्न सकेन र सिर्जना गरेका अवसर पनि निकै सीमित थिए ।
अस्ट्रेलियाका फरवार्ड टेटे येन्गीले नकआउट चरणमा टोलीले गोल निकाल्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार समूह चरणमा बलियो रक्षापंक्तिविरुद्ध खेल्नुपरेकाले गोल गर्न कठिन भएको थियो । इजिप्टका अहमद फतौह तिघ्राको गम्भीर चोटका कारण यो खेल गुमाउने सम्भावना छ । मोहम्मद अब्देलमोनेम पनि खुट्टाको चोटका कारण शंकास्पद छन् । यता अस्ट्रेलियाले रक्षक जेकब इटालियानो र अनुभवी मध्यपङ्क्तिका खेलाडी म्याथ्यु लेकीलाई चोटका कारण गुमाइसकेको छ । प्रशिक्षक टोनी पोपोभिचले बायाँ रक्षापङ्क्तिमा अजिज बेहिच र दायाँतर्फ जोर्डन बोसलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
इजिप्ट र अस्ट्रेलियाबीच हालसम्म दुई पटक मात्र प्रतिस्पर्धा भएको छ । सन् १९८७ को प्रेसिडेन्ट्स कपमा गोलरहित बराबरीपछि अस्ट्रेलिया पेनाल्टी सुटआउटमा विजयी भएको थियो । त्यसपछि सन् २०१० को मैत्रीपूर्ण खेलमा इजिप्टले अस्ट्रेलियालाई ३-० ले हराएको थियो । यद्यपि हालको अस्ट्रेलियाली टोलीका पाँच खेलाडी टोकियो ओलम्पिकमा इजिप्टसँग २-० ले पराजित भएको टोलीका सदस्य थिए । साथै विश्वकपमा अफ्रिकी टोलीविरुद्ध अस्ट्रेलियाले हालसम्म हार बेहोरेको छैन । उसले सन् २०१० मा घानासँग १-१ को बराबरी खेलेको थियो भने सन् २०२२ मा ट्युनिसियालाई १-० ले पराजित गरेको थियो ।
यस खेलको विजेताले अन्तिम १६ मा साविक विजेता अर्जेन्टिना र केप भार्डेबीचको विजेतासँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।