कम्बोडियामा अलपत्र परेका १२ नेपालीको उद्धार

२०८२ चैत्र १७ मङ्गलवार
सारांश
  • कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।

काठमाण्डौ, १७ चैत्र । कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।

 

थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू चैत्र १६ गते कम्बोडियाबाट उडेर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

 

उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र तथा क्यासिनोमा गैरकानुनी काममा लगाइएका थिए । साथै केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा भेटिएको राजदूतावासले जनाएको छ ।

 

राजदूतावासका अनुसार कम्बोडियामा यस्तै समस्यामा परेका अन्य नेपालीलाई समेत स्वदेश फर्काउने पहल जारी रहेको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई शीघ्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।

 

राजदूतावासले अनलाइन ठगी केन्द्रमा काम लगाइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या देखिएको जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्किन चाहनेका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ ।

 

पछिल्लो तथ्याङ्कअनुसार कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०२१ मा १०१ जना नेपाली गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९६७६ पुगेको छ ।

 

राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार