जापान र ताइवानको पक्षमा उभिन ‘नेपाल डेमोक्रेसी युनियन’ को आह्वान

२०८२ मङ्सिर २७ शनिवार
सारांश
  • हाम्रा पूर्वाधार विकासमा अर्बौं सहयोग गर्ने मित्रराष्ट्रको भावनामा चोट पुग्ने गरी गरिएको भ्रमण नेपालको प्रजातान्त्रिक पहिचानमाथिको आघात हो," गौतमले भनेका छन्।

काठमाडौं: नेपाल डेमोक्रेसी युनियनका अध्यक्ष सिद्धार्थ गौतमले जापानको नयाँ नेतृत्व र ताइवानको रक्षामा विश्वका प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले पूर्वी एसियामा चीनको बढ्दो सैन्य आक्रामकताले विश्व शान्तिमा चुनौती थपेको भन्दै नेपालले पनि प्रजातान्त्रिक कित्तामा स्पष्ट अडान लिनुपर्नेमा जोड दिएका हुन्।

 

जापानको नयाँ नेतृत्वको प्रशंसा
अध्यक्ष गौतमले जापानकी नवनिर्वाचित प्रधानमन्त्री ताकेई ताकाइचीको ‘साहसी र दूरदर्शी’ नेतृत्वको खुलेर प्रशंसा गरेका छन्। प्रधानमन्त्री ताकाइचीले एपेक (APEC) सम्मेलनका क्रममा ताइवानका उच्च अधिकारीहरूसँग भेटेर ताइवानको पक्षमा खुला समर्थन जनाएको कदमलाई गौतमले "प्रजातन्त्र र स्वतन्त्रताको विश्वव्यापी रक्षामा एकताको शक्तिशाली सन्देश" को संज्ञा दिएका छन्।

 

विज्ञप्तिमा भनिएको छ, "जापानले अब केवल रक्षात्मक नीति मात्र होइन, प्रजातान्त्रिक मूल्य र स्वतन्त्रताको रक्षामा सक्रिय र आक्रामक कूटनीति अपनाउने स्पष्ट सङ्केत दिएको छ, जुन नेपालजस्ता साना प्रजातान्त्रिक राष्ट्रहरूका लागि प्रेरणाको स्रोत हो।"

 

‘प्यासिफिक शिल्ड–२०२५’ को स्वागत
युनियनले अमेरिका, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्युजील्याण्ड र फिलिपिन्सले दक्षिण चीन सागरमा सुरु गरेको ‘प्यासिफिक शिल्ड–२०२५’ संयुक्त सैन्य अभ्यासको स्वागत गरेको छ। चीनले ताइवानलाई २०२७ सम्म कब्जा गर्ने योजना बनाईरहेको र सिन्काकु टापुमा जापानको सार्वभौमिकतामाथि लगातार हस्तक्षेप गरेको सन्दर्भमा यो सैन्य अभ्यास "स्वतन्त्रता र शान्तिको रक्षाको ठोस कदम" भएको गौतमको ठहर छ।

 

नेपालको विदेश नीतिप्रति चिन्ता
अध्यक्ष गौतमले नेपालको कूटनीतिक अभ्यासमा गम्भीर विचलन आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विशेषगरी, गत सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा आयोजित "जापानमाथि विजयको ८०औँ वार्षिकोत्सव" परेडमा सहभागिता जनाएको घटनालाई उनले "कूटनीतिक गल्ती" र "राष्ट्रिय हितविपरीत" भएको बताएका छन्।

 

"जापान नेपालको सबैभन्दा ठूलो द्विपक्षीय विकास साझेदार हो। हाम्रा पूर्वाधार विकासमा अर्बौं सहयोग गर्ने मित्रराष्ट्रको भावनामा चोट पुग्ने गरी गरिएको भ्रमण नेपालको प्रजातान्त्रिक पहिचानमाथिको आघात हो," गौतमले भनेका छन्।

 

युनियनको स्पष्ट अडान
नेपाल डेमोक्रेसी युनियनले नेपाल सरकारलाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चहरूमा ताइवान तथा प्रजातान्त्रिक मूल्यको पक्षमा साहसी आवाज उठाउन माग गरेको छ। विज्ञप्तिमा विदेश नीतिलाई कुनै विचारधारामा नभई राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यमा आधारित बनाउन सुझाव दिइएको छ।

 

अन्त्यमा, अध्यक्ष गौतमले अधिनायकवादी शक्तिहरूको योजनालाई विफल पार्न प्रजातान्त्रिक राष्ट्रहरूको एकता अपरिहार्य रहेको भन्दै नेपाल डेमोक्रेसी युनियन जापान र ताइवानको साथमा सधैं दृढतापूर्वक खडा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार